बझाङमा ३७ प्रतिशतले मतदान गरे

बझाङमा ३७ प्रतिशतले मतदान गरे

धनगढी । बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा दिउँसो भएपछि मतदान गर्नेको संख्या बढेको छ ।  विहान ११  बजेसम्म १५ प्रतिशत मतदान भएको सो क्षेत्रमा दिउँसो १ः३० बजेसम्म ३७ प्रतिशत मतदान भएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले बताए । 

उहाँले प्रदेश सभा (१) को निर्वाचन क्षेत्रभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताउनुभयो । मतदाताले खेतवारीको काम गरेर, खाना खाएर ठुलो संख्यामा मतदान क्षेत्रमा आउन थालेको उहाँको भनाइ छ । सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहका उपनिर्वाचन हुने प्रदेश सभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदानस्थल र ९३ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ । 

सो क्षेत्रको चुनावमा सात वटा पालिका ४९ र थलारा गाउँपालिकाको वडा नम्बर ९ सहित ५० वडाका मतदाता सहभागी भएका छन् । सात पालिकामा जयपृथ्वी नगरपालिका ११, मष्टा ७, तलकोट ७, साइपाल ५, सूर्मा ५, छविसपाथिभरा ७, खप्तडछान्ना गाउँपालिकामा ७ वडा छन् । 

मतदान शान्तिपूर्ण बनाउन नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाका टोली मतदान केन्द्रमा खटिएको प्रहरी नायव उपरीक्षक शाहले बताउनुभयो । उहाँका अनुसार शनिबार नै सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम चैनपुर ल्याइने छ । साइपाल गाउँपालिका लगायतका विकट क्षेत्रबाट भने मतपेटिका हेलिकोप्टरबाट ल्याइने भएको छ ।

सो क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन थालेको हो । 

११ जना उम्मेदवार रहेको सो क्षेत्रबाट मुख्य दलहरु क्रमशः नेपाली कांग्रेसले स्व। सिंहको जेठा छोरा अभिषेकबहादुर सिंह, नेकपा (एमाले) ले दमन भण्डारी, नेकपा (माओवादी केन्द्र) का जनक बुढा र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।