अछाममा कक्षा १२ का विद्यार्थीले पुरानै प्रश्न पत्रबाट परीक्षा दिएपछि -भद्रगोल

अछाममा कक्षा १२ का विद्यार्थीले पुरानै प्रश्न पत्रबाट परीक्षा दिएपछि -भद्रगोल

अछाममा कक्षा १२ का विद्यार्थीहरूले पुरानै प्रश्न पत्रबाट परीक्षा दिएको पाइएको छ। अछामको साँफेबगर नगरपालिका १ कालीमाटीस्थित सूर्यचन्द्र मावि परीक्षा केन्द्रमा विद्यार्थीहरूले पुरानै प्रश्न पत्रबाट परीक्षा दिएको पाइएको हो ।

२०८१ सालको प्रश्नपत्र दिनुपर्नेमा २०८० सालको पुरानै प्रश्न पत्रबाट विद्यार्थीहरूले परीक्षा दिएका हुन् । परीक्षा दिएर बाहिर निस्केपछि मात्रै विद्यार्थीहरूले पुरानो प्रश्न पत्र नै दिएकोबारे जानकारी पाएका थिए । ९७ जना नियमित र ७ जना आंशिक तर्फका गरी १०४ जना विद्यार्थीले आज ३०४१ एच विषय कोड रहेको अर्थशास्त्र विषयको परीक्षा दिएका थिए । परीक्षा दिएर बाहिरिएपछि विद्यार्थीले पुरानो प्रश्न पत्रबाट परीक्षा दिएको जानकारी पाएका थिए ।


त्यसपछि विद्यार्थीहरूले केन्द्राध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक देवेन्द्रबहादर शाहलाई जानकारी गराएका थिए । पुरानो प्रश्न पत्रबाट परीक्षा दिने सबै विद्यार्थीको परीक्षा रद्द गरिएको छ । उनीहरूलाई अब अर्को मितिमा अर्को परीक्षा हुनेछ । परीक्षा २०८१ मा भइरहेको तर विद्यालयको लापरबाहीका कारण २०८० सालको पुरानो प्रश्न पत्र प्रिन्ट गरेर परीक्षामा सहभागी परीक्षार्थीलाई वितरण गरिएको थियो ।केन्द्राध्यक्ष शाहले राष्ट्रिय परीक्षा बोर्डबाट ढिलागरी प्रश्न पत्र मेलमा आएको र पेनड्राइभमा हालेर प्रिन्ट गर्ने बेला पुरानो प्रश्न पत्र प्रिन्ट हुन पुगेको बताए ।

आज अर्थशास्त्र र नेपाली विषयको परीक्षा थियो । अर्थशास्त्र विषयको प्रश्न पत्र पेनड्राइडमा हालेर प्रिन्ट गर्न दिएको थिए । म नेपाली विषयको प्रश्न पत्र डाउनलोड गर्नतिर लागेको थियो शाहले भने उता पेनड्राइभमा पुरानो प्रश्न पत्र पनि रहेछ । प्रिन्ट गर्ने बेला त्यही पुरानो प्रश्न पत्र प्रिन्ट भएछ । हतार हतार भएकाले हामीले प्रश्न पत्र हेर्न सकिएन । विद्यार्थीलाई बाँडेपछि परीक्षा दिए । अन्तिममा थाहा भयो ।

पुरानो प्रश्न पत्रबाट परीक्षा दिएको विषयमा राष्ट्रिय परीक्षा बोर्डमा जानकारी गराइएको उनको भनाइ छ । बोर्डले लिखित रूपमा उक्त जानकारी दिन विद्यालयलाई भनेको छ । सोही आधारमा आफूले लिखित रूपमा जानकारी पेश गर्न लागेको शाहले बताए । ‘पुरानो प्रश्न पत्रबाट परीक्षा दिएपछि आजको परीक्षा रद्द गरिने शाहले बताए । यस्तो भयो अब के गर्ने भनेर बोर्डमा खबर गरेको थिए । बोर्डबाट आजको परीक्षा रद्द हुन्छ भन्ने जानकारी दिनुभएको छ । अब अर्को मितिमा आज रद्द गरिएको विषयको परीक्षा हुन्छ शाहले भने ।