कोसी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

कोसी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

विराटनगर । कोसी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । मुख्यमन्त्रीमा बिहीबार दाबी पेस गरेका कार्कीलाई समर्थन गर्ने सांसदको सनाखत पूरा भएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गरेका हुन् । उनी प्रदेशको आठौं मुख्यमन्त्री हुन् ।

एमाले-माओवादीका ५२  सांसद प्रदेश प्रमुखको कार्यालयमा भेला भई सनाखत गरेका थिए । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न बुधबार आह्वान गरेका थिए ।‌ 

कार्की तेस्रोपटक कोसीको मुख्यमन्त्री बनेका हुन् । झापा गौरादह निवासी कार्की अनेरास्ववियुको केन्द्रीय नेतृत्व सम्हाल्दै  एमालेको राजनीतिमा सक्रिय भएका हुन् । 

दुई दलले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता गरी वैसाख ७ गते प्रदेशसभाबाट संकल्प प्रस्ताव पारित गरी कार्कीलाई विश्वासको मत लिन भनेका थिए ।‌  तर, कार्कीले संकल्प प्रस्तावको संवैधानिक हैसियतमाथि प्रश्न उठाउँदै विश्वासको मत लिएनन् । उनी सरकार आह्वान गैरसंवैधानिक तवरले भएको भन्दै रिट दर्ता गर्न सर्वोच्च अदालत पुगेका छन् ।