भूमेस्थानमा पूजा गर्दै आज उँभौली पर्व मनाइँदै

भूमेस्थानमा पूजा गर्दै आज उँभौली पर्व मनाइँदै

काठमाडौं । किराँत राई समुदायको महत्वपूर्ण पर्व उँभौली अर्थात् चण्डी पूर्णिमा आज मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भूमेस्थानमा पूजा गरी उँभौली पर्व मनाउने र चण्डी नाच्ने प्रचलन छ ।

बाली लगाउनुअघि राम्रोसँग काम होस् भनी गाउँ–गाउँमा रहेका भूमेस्थानमा प्रकृतिको पूजा आराधना गर्ने परम्परा छ ।

गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको बताइन्छ । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्राएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ ।

यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।