अत्यधिक गर्मीले १४ जनाको मृत्यु

अत्यधिक गर्मीले १४ जनाको मृत्यु

साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ जना हजयात्रीको मृत्यु भएको छ । अत्यधिक गर्मीका कारण कम्तीमा १४ जना जोर्डनका नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ ।

जोर्डनको विदेश मन्त्रालयले अत्यधिक गर्मी भएपछि ‘हिट स्ट्रोक’का कारण १४ जनाको मृत्यु भएको र हजयात्रीको भीडमा १७ जना बेपत्ता भएका बताएको छ । बेपत्ताहरूको खोजी भइरहेको छ । यसैबीच इरानी रेड क्रिसेन्टले पाँच जना इरानी हज तीर्थयात्रीको पनि मृत्यु भएको पुष्टि गरेको छ तर उनीहरूको मृत्यु कसरी भयो भन्ने बताएको छैन ।

हज संसारको सबैभन्दा ठूलो धार्मिक समारोहमध्ये एक हो । साउदी अधिकारीकाअनुसार यो वर्ष १८ लाखभन्दा धेरैले यसमा भाग लिइरहेका छन् । त्यहाँ यस हप्ताको तापक्रम ४६ डिग्री सेल्सियस नाघेको छ जसले गर्दा घरबाहिर र पैदल हिँड्ने धेरैलाई समस्या भइरहेको छ ।