विमानमा चरा ठोक्किएर इन्जिनमा आगो लागेपछि...

विमानमा चरा ठोक्किएर इन्जिनमा आगो लागेपछि...

वेलिंटन । अस्ट्रेलियाको मेलबर्नका लागि उडेको यात्रुवाहक विमानलाई न्युजिल्यान्डमा सकुशल अवतरण गराइएको छ । विमानको इन्जिनमा आगो लागेपछि इन्जिन बन्द हुँदा विमानलाई एक्कासि अवतरण गराउनुपरेको हो ।  

क्विन्सटाउनबाट उडेको करिब ५० मिनेटपछि भर्जिन अष्ट्रेलिया बोइङ ७३७–८०० जेट विमान न्युजिल्यान्डको इन्भरकार्गिल सहरमा अवतरण गरिएको हो । 

क्विन्सटाउन विमानस्थलकी प्रवक्ता क्याथरिन निन्डका अनुसार विमानमा सवार यात्रुको संख्या र इन्जिनमा आगो लाग्नुको कारण तत्काल थाहा हुन सकेको छैन ।

भर्जिन अष्ट्रेलियाले इमेलमार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो घटना विमानमा ‘चरा ठोक्किएपछि’ भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

करिब ५३ हजार जनसंख्या रहेको क्विन्सटाउन न्युजिल्यान्डको दक्षिणी टापुमा स्कीइङ, साहसिक पर्यटनका लागि लोकप्रिय गन्तव्य हो ।

न्युजिल्यान्डको उड्डयन नियामक निकायले आफ्नो वेबसाइटमा भनेको छ, “न्युजिल्यान्डका विमानस्थलमा प्रति १० हजार चार चरा ठोक्किने अध्ययनले देखाएको छ ।” 

चरा विमानको कुन भागमा ठोक्कियो, चराको आकार कस्तो थियो भन्ने कुरा यसको गम्भीरता फरक–फरक हुन्छ तर यसलाई विमान चालकको अनुभव र भनाइको आधारमा विश्लेषण गरिन्छ ।