बम बिस्फोटका घाइतेको उपचारमा राज्यले चासो नदिएको आरोप

बम बिस्फोटका घाइतेको उपचारमा राज्यले चासो नदिएको आरोप

धनगढी : धनगढीको शहीदगेट नजिकैको एक होटलमा बिहीबार साँझ भएको बिस्फोटमा घाइते भएकाहरुको उपचारका सरकारले बेवास्ता गरेको घाइतेका आफन्तहरुले आरोप लगाएका छन् ।  

शहीदगेट नजिकैको निलम होटलका भएको बिस्फोटमा घाइते भई धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेका जितेन्द्र यादवले सरकारी निकायले अहिले सम्म कुनै चासो नदिएको बताउनुभयो । घटना भए लगत्तै अनुसन्धान तथा बयानका लागि प्रहरी अधिकारी र प्रमुख जिल्ला अधिकारी आाएपनि उपचारका सन्दर्भका कसैले चासो नदेखाएको उहाँले बताउनुभयो ।

“धनगढी प्रदेशको राजधानी हो, यहाँ प्रदेश र स्थानीय सरकार छन्, तर हाम्रो उपचारमा कसैले पनि चासो लिएका छैनन्”– घाइते यादवले भन्नुभयो । बम बिस्फोटमा परी घाइते भएका मध्ये यादव र मोविल खानको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने होटल सञ्चालक केशब पाण्डेलाई उनका आफन्तले शुक्रबार कोहरपुरस्थित मेडिकल कलेज लिएर गएका छन् ।

धनगढीमै उपचार हुन सम्भव रहेको भएपनि टाउकोको चोट भएकोले आफन्तहरुले झन सुरक्षित स्थान खोजेर कोहलपुर लिएको माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले बताउनुभयो । घाइते सबैले अहिले आफ्नै खर्चमा उपचार गरिरहेको यादवले बताउनुभयो । घाइते यादवको शल्यक्रिया गरी पेटमा रहेका बमका छर्राहरु निकालिएको अस्पतालले जनाएको छ ।

यस्तै अर्का घाइते मोविन खानको पनि शल्यक्रिया गरिएको छ । बिस्फोटमा गम्भीर घाइते भएका लक्ष्मण सेरेला पूर्व माओवादी लडाकु भएको खुलेको छ । उनकी श्रीमती बिमला सेरेलाले आफ्ना श्रीमान पूर्व माओवादी लडाकु रहेको र सेना समायोजनको बेला स्वेच्छिक अवकाश रोजेर घर आएको बताउनुभयो ।

उहाँले श्रीमानले घर आउँदा पाएको ५ लाख रुपैयाले बेल्डााडी गाउँपालिकाको वडा नम्बर ५ झिलमिलामा ५ कठ्ठा जग्गा किनेर घर बनाएको बताउनुभयो । सेना समायोजनपछि लक्ष्मणले भारतको नाशिकमा मजदुरी गर्ने गरेको र उनी ३ महिना अघि मात्रै घर आएको श्रीमती बिमलाले बताउनुभयो । घटना भएको दिन बिहान आफुले फोन गर्दा श्रीमानले आफु नेपालगञ्ज रहेको र तीन दिनपछि मात्रै घर आउने जानकारी दिएको उहाँले बताउनुभयो ।

सेरेलाको पनि अहिले शल्यक्रिया गरी शरीरमा रहेका बमका छर्रा निकाल्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ । श्रीमान संगै बम बिस्फोटमा परि ज्यान गुमाएका राम सिंहलाई भने आफुले नचिनेको बिमलाले बताउनुभयो । पूर्व माओवादी लडाकु भएको र बम बिस्फोटको प्रकृति र हतियार बोकेको अवस्था हेर्दा सेरेला पनि बिप्लब नेतृत्वको नेकपाका कार्यकर्ता रहेको प्रहरीले आशंका गरिरहेको छ ।

उता बिस्फोटमा मृत्यु भएका राम सिंह भने आफ्ना कार्यकर्ता रहेको बिप्लब समुहले पुष्टि गरेको छ । समुहका सेती महकाली इञ्चार्ज निर्माणले बिज्ञप्ति जारी गर्दै राम सिंह आफ्नो कार्यकर्ता भएको र पार्टी कामको सिलसिलामा आत्मरक्षाका लागि बोकेको बम बिस्फोट भएको जनाएका छन् ।