प्रारम्भिक अनुसन्धानमै त्रृटि देखियो, संलग्नलाई अधिकारीलाई कारबाही हुनुपर्छ : उच्च स्तरीय छानबिन समिति

प्रारम्भिक अनुसन्धानमै त्रृटि देखियो, संलग्नलाई अधिकारीलाई कारबाही हुनुपर्छ : उच्च स्तरीय छानबिन समिति


धनगढी : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त प्रकरणको अनुसन्धानका लागि सरकारले गठन गरेको उच्च स्तरीय छानबिन समितिले प्रहरीको प्रारम्भिक अनुसन्धान नै त्रृटिपूर्ण रहेको ठहर गरेको छ । 

प्रारम्भिक चरणमा प्रहरीले अनुसन्धानमा चासो नदिएको र त्यसैमा प्रहरीले प्रमाणहरू नष्ट गरेको पाइएको टोलीले जनाएको छ । 

त्यसैमा न्यायका लागि आन्दोलन गर्दा प्रहरीले बल प्रयोग गर्दा एक बालकले ज्यान गुमाउनुपरेको र दर्जनौँ घाइते भएको समितिका संयोजक हरि मैनालीले बताए । 

‘घटनाको सुरुवाती चरणमै अनुसन्धानमा प्रहरीले चासो दिएको देखिएन । त्यसैमा प्रमाण नष्ट गरेको र प्रदर्शनकारीमाथि गोली चलाएर गम्भीर गल्ती गरेको पाइएको छ ।’ महेन्द्रनगरमा अनुसन्धान गरेर शुक्रवार काठमाडौँ जाने क्रममा मैनालीले भने । 

समितिका एक सदस्यले भने, ‘घटनाको अनुसन्धानमा लापरबाही, ढिलासुस्ती गर्ने र प्रमाण नष्ट गर्नेदेखि घटनालाई ढाकछोप गर्न लाग्ने प्रहरी अधिकारीमाथि कारबाही गर्ने कुरा समेत प्रतिवेदनमा समेट्छौ ।’

‘सबै सवैपक्षसग घटनाबारे छलफल गरेका छौ । जनताको माग अनुसार वास्तविक प्रतिवेदन तयार गर्छौ ।’ समितिका सदस्य तथा प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले भने, ‘प्रतिवेदनमा समेटिएका कुरा कार्यान्वयमा सरकार गएमा दोषीले सजाय पाउँछ ।’

निर्मला हत्या प्रकरणको घटनामा प्रहरीको प्रारम्भिक अनुसन्धानको छानबिन तथा थप अनुसन्धान गर्न कञ्चनपुर पुगेको उच्चस्तरीय छानबिन समिति शुक्रवार काठमाडौँ फर्किदैछ । 

घटना भएका बेला जिल्लामा रहेका एसपी, डिएसपी लगायतसग काठमाण्डौमा सोधपुछ गरी केही दिनभित्र प्रतिवेदन सरकारलाई बुझाईने समितिले जनाएको छ । 

टोलीलाई निर्मलाको बलात्कार र हत्याको घटनाको  अनुसन्धान गरी प्रतिवेदन तयार पार्न १५ दिनको समय दिइएको समितिले भदौ ८ गते महेन्द्रनगर पुगेर ९ गतेदेखि आफ्नो काम अगाडि बढाएको थियो ।