न्याय निरुपणममा हुने ढिलाईमा अदालत मात्रै कारण नहुने जिल्ला न्यायधीश खनालको भनाई

न्याय निरुपणममा हुने ढिलाईमा अदालत मात्रै कारण नहुने जिल्ला न्यायधीश खनालको भनाई

धनगढी : कैलाली जिल्ला अदालतका न्यायधीश कृष्ण प्रसाद खनालले न्याय निरुपणमा ढिलाई हुनुको कारण अदालत मात्रै नभएको बताउनुभएको छ । 

शुक्रबार कैलाली जिल्ला अदालतले न्यायालयको पाँच बर्षे रणनीतिक योजनाबारे जानकारी दिन आयोजना गरेको कार्यक्रममा बोल्दै जिल्ला न्यायधीश खानालले न्याय निरुपणमा केही ढिलाई हुँदा सार्वजनिक रुपमै अदालत र अदालति प्रक्रियाबारे मात्रै आलोचना हुने गरेको बताउँदै न्याय निरुपणमा अन्य कारणले पनि ढिलाई हुने गरेको बताउनुभयो ।

“मुद्धा चलेपछि साक्षी प्रमाण खोज्ने, बयान लिने, म्याद तामेल गर्ने जस्ता प्रक्रिया हुन्छन, यी कुरामा मुद्धा लड्ने वा उनीहरुका साक्षीहरुले गर्ने ढिलाईले पनि मुद्धा हेर्दा ढिलाई हुन्छ”–उहाँले भन्नुभयो । 

जिल्ला न्यायधीश खनालले मुद्धाको प्रकृति र मुद्धा लड्ने मान्छेहरुको ब्यक्तिगत आचरण र बान ब्यहोरा पनि न्याय सम्पादनमा ढिलाई हुने कारण रहेको बताउनुभयो । आफ्नो भनाईको आशय अदालतमा ढिलासुस्ती हुदैन भन्ने नरहेको प्रष्ट पार्दै उहाँले मुद्धाका पक्ष र बिपक्षमा हुनेहरुले प्रक्रिया नबुझेर नै अदालत आउने र प्रक्रिया बताउँदा झन्झट मान्ने गरेको जिल्ला न्यायधीश खनालले बताउनुभयो । 

२०६० सालदेखि रणनीतिक योजना बनाएर सुधारको प्रयास थालिएको र जिल्ला अदालतहरुमा ३५ देखि ४० प्रतिशत सम्म मात्रै मुद्धा फछ्र्यौट गर्ने दर रहेकोमा चौथो योजना सम्म आपुग्दा बढेर ७० प्रतिशत पुगेको जिल्ला अदालतका श्रेस्तेदार भुवन गिरीले बताउनुभयो । नया रणनीतिक योजना चालू आर्थिक बर्ष देखि लागू भएर आर्थिक बर्ष २०८०÷०८१ मा सकिने उहाँले जानकारी दिनुभयो ।