कैलारी गाउँपालिकाको उत्तर मझराको चमरैया तालमा स्थानीयबासी र गाउँपालिकाको दोहोरो ठेक्का

कैलारी गाउँपालिकाको उत्तर मझराको चमरैया तालमा स्थानीयबासी र गाउँपालिकाको दोहोरो ठेक्का

धनगढी : कैलाली जिल्लाको मध्यवती क्षेत्र कैलारी गाउँपालिकामा माछापालन गर्ने उद्देश्यले एकै तालमा दोहोरो ठेक्का लागेको छ । गाउँपालिकाको वडा नम्बर २ उत्तर मझरामा रहेको पाँच हेक्टर भन्दा बढी क्षेत्रफल रहेको चमरैया तालमा माछापालन गर्न स्थानीय बासिन्दाहरुको समुहले जनक बहादुर चौधरी, सुरज चौधरी र रिता कुमारी चौधरीलाई ठेक्कामा दिएको छ ।

गत बैशाख २५ गते स्थानीय बासिन्दाहरुको सरंक्षणमा रहेको सो ताल जनक चौधरी लगायतका साझेदारलाई ५ बर्षका लागि ३ लाख ४० हजारमा ठेक्कामा दिने निर्णय गरेको हो । तालबाट प्राप्त हुने रकम स्थानीय सरस्वती आधारभूत विद्यालयका लागि प्रयोग गर्दै आएको स्थानीयहरुले बताएका छन् । 

सो तालमा स्थानीयले जनक चौधरी सहितका तीनजनालाई पाँच बर्षका लागि ठेक्कामा दिएको दुई महिनापछि असार २५ गते गाउँपालिकाले मटैया ताल र नजिकै रहेको चमरैया ताल समेतको भोगाधिकार दिएर छोटेलाल चौधरीलाई ठेक्कामा दिएको छ ।

स्थानीय बासिन्दाबाट ताल ठेक्कामा लिएका सुरज चौधरी हालसम्म सो ताल गाउँलेले नै संरक्षण गरेको र विद्यालयको खर्चका लागि उनीहरुले नै उपभोग समेत गरिरहेकोले आफुले ब्यवसायिक प्रयोजनका लागि ठेक्कामा दिन भनेपछि गाउँलेहरुले हस्ताक्षर गरेर ३ लाख ४० हजारमा पाँच बर्षका लागि ठेक्कामा दिएको बताउनुभयो ।

चौधरीले आफुले स्थानीयहरुसितको सम्झौता अनुसार ठेक्काको कबुल रकमको १० प्रतिशतका दरले ३४ हजार धरौटी बुझाएर डेढ लाख थप लगानी गरी १५ हजार माछाका भुराहरु तालमा हालिसकेपछि गाउँपालिकाको तर्फबाट ठेक्का लिएको भन्दै छोटेलाल चौधरीले ताल छोड्न दवाव दिइरहेको बताउनुभयो । 

जनक चौधरीको समुहले स्थानीय बासिन्दासित पाँच बर्षका लागि ताल ठेक्का लिएको सम्झौता गरेकै दिन गाउँपालिकाको वडा नम्बर २ का अध्यक्ष सन्तुराम चौधरीले मटैया तालमा कुनै ठेक्का नरहेको ब्यहोरा सहितको पत्र गाउँपालिकालाई पठाएका छन् ।

गाउँपालिकाको कार्यपालिकाको २०७५ साल पुस १९ गते बसेको बैठकले मटैया ताल पाँच बर्षका लागि छोटेलाल चौधरीलाई साढे ६ लाखमा ठेक्कामा दिने निर्णय गरेको छ । बैडकको निर्णय कम्प्युटरबाट टाइप गरी निर्णय पुस्तिकामा टाँसिएको छ ।

एउटै मात्र तालबाट साढे ६ लाख गाउँपालिकालाई बुझाएर आफुले आम्दानी गर्न समस्या हुने स्थिति देखेपछि छोटेलाल चौधरीले चमरैया ताल पनि आफुलाई नै दिन गाउापालिकालाई भनेको र छोटेलालकै दवावमा गाउँपालिकाले कम्प्युटर टाइप गरि प्रिन्ट गरिएको निर्णयमा माथिपट्टि हातले लेखेर अध्यक्षको हस्ताक्षर गराई चमरैया ताल पनि छोटेलालले ठेक्का पाएको देखाइएको छ ।

गाउँपालिकाको निर्णय पुस्तिकामा नै हातले लेखेर माथिपट्टिबाट अध्यक्षको दस्तखत गराई किर्ते काम गरिएको स्थानीयका तर्फबाट जनक चौधरीको समुहलाई ताल ठेक्कामा दिने ब्यहोराको सम्झौतामा हस्ताक्षर गरेका ११ जना मध्येका एक लक्ष्मी प्रसाद चौधरीले बताउनुभयो । 

गाउँलेहरुले सो तालबाट उठेको रकम स्थानीय विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकको तलब तथा विद्यालयको अन्य प्रशासनिक तथा भौतिक संरचना निर्माणमा खर्च गर्दै आएको अर्का स्थानीय राजकुमार कठरियाले बताउनुभयो ।गाउँपालिकाले ताल ठेक्का दिएका छोटेलाल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवाका भाई हुन ।

गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले सो तालमा कुनै विवाद नरहे पनि वन को सब डिभिजन कार्यालयले उक्साएका कारण जवर्जस्ती विवाद गरिएको बताउनुभयो । उहाँले गाउँपालिकाले ठेक्कामा दिएका ठेकेदारले गाउँलेबाट ठेक्का लिएका जनक चौधरीको समुहलाई खर्च भएको रकम फिर्ता दिने समेत भनेको बताउनुभयो ।