गाउँगाउँमा भाइरलका बिरामी बढ्दै

गाउँगाउँमा भाइरलका बिरामी बढ्दै

डोटी : दूषित पानीले टाइफाइड र भाइरलका बिरामी बढेका छन् । जिल्लाका आदर्श, बड्डीकेदार र केआईसिंह गाउँपालिकाका स्थानीय टाइफाइडले प्रभावित भएका हुन भने दिपायल सिलगढी, शिखर नगरपालिका तथा पूर्विचौकी गाउँपालिकामा भाइरल ज्वरोका बिरामी बढेका छन ।
जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट भूषण मिश्रका अनुसार जिल्ला अस्पतालमा ज्वरो बढेको, हातखुट्टा गल्ने, कमजोरीको महसुस गर्ने बिरामीहरूको संख्या साउनदेखि लगातार बढेको बढ्यै छ । ‘त्यो भाइरल ज्वरोको लक्षण हो, हामीले औषधी दिएर उपचार गराइरहेको जानकारी दिनुभयो ।

दूषित पिउने पानी तथा खानपानमा ध्यान नदिँदा टाइफाइडका बिरामी दैनिक बढ्ने गरेको आदर्श गाउँपालिका मौवानगरदह स्वास्थ्य चौकी इन्चार्ज दीपक ओझाले बताए । दैनिक २० देखि २५ जनासम्म टाइफाइडका बिरामी आउने गरेको उनले जानकारी दिएका छन ।

आदर्श गाउँपालिका–१ बाझकी कलुदेवी खडाले ७ दिनसम्म घरमै थलापरेपछि उपचारका लागि स्वास्थ्यचौकी आएको बताउनुभयो । उपचार क्रममा स्वास्थ्यचौकीबाट टाइफाइडको बिरामी भएको थाहा पाएपछि सुई र औषधि लिएर उनी फर्किन लागेकी थिइन । उनले टोलमा आफूजस्ता बिरामीहरूको संख्या धेरै रहेको जानकारी दिनुभयो ।

मौवानगरदह स्वास्थ्य चौकीमा टाइफाइडसँगै जन्डिसका बिरामीहरू आउने गरेका छन् । ओझाले उपचारका लागि औषधि तथा उपचारका लागि स्वास्थ्यकर्मी व्यवस्था भएकाले समस्या भने नभएको बताए । आदर्श गाउँपालिकामा अझै पनि सामान्य बिरामी सम्झेर कतिपय उपचारका लागि स्वास्थ्यचौकी आउन सकेका छैनन ।
केआईसिंह गाउँपालिकाको दुर्गामाण्डौ इकाला स्वास्थ्य चौकीमा तिखात्तर, वायल, बासुदेवी, दल्ल क्षेत्रका बिरामीहरू टाइफाइडका लक्षणहरू लिएर उपचारका लागि आउने गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक तिलबहादुर बोहराले जानकारी दिए । बिरामीमध्ये अधिकांश महिला र बालबालिका रहेका छन ।
डोटीमा १६ प्रतिशत जनसंख्या अझै पनि नदी, खोला तथा कुवाको पानी पिउन बाध्य रहेको तथ्यांक छ । पछिल्लो समय डोटीमा झाडापखालाका बिरामी भने घट्न थालेका छन् । ग्रामीण क्षेत्रमा समेत शौचालय निर्माण भएपछि झाडापखालाका बिरामीको संख्यामा कमी आएको मौवानगरदह स्वास्थ्यचौकीकी सिनियर अनमी यशोदा ओझाले बताउनुभयो  ।
उहाँले चार पाँच वर्षअघि वर्षातको समयमा झाडापखालाका बिरामीको उपचार गर्न औषधि र स्लाइन पानीको अभाव हुने गरेको तर अहिले अवस्था सन्तोषजनक रहेको बताउनुभयो । बोगटान गाउँपालिकामा पनि दैनिक १० र १२ जना टाइफाइडका बिरामी देखा परिरहेका छन  ।
बड्डीकेदार गाउँपालिकाको घांगल, बर्छैन, मान्नाकापडीमा टाइफाइडका बिरामी साता दिन यताबाट बढ्न थालेको गाउँपालिकाका स्वास्थ्य शाखाका योगेन्द्र शाहीले बताउनुभयो । उहाँले भाइरल ज्वरोका बिरामी साउन महिनामा बढी आएको भए पनि अहिले टाइफाइडका बिरामी बढेको जानकारी दिनुभयो ।