गाउँपालिका केन्द्र जाने बाटोको पुल जीर्ण हुँदा आवत–जावतमा समस्या

गाउँपालिका केन्द्र जाने बाटोको पुल जीर्ण हुँदा आवत–जावतमा समस्या

बैतडी : जिल्लाको सुर्नया गाउँपालिकाको केन्द्र जाने बाटोमा रहेको डोडेश्वर पुल जीर्ण हुँदा स्थानीयबासी र गाउँपालिकामा सेवा लिन जाने सेवाग्राहीलाई समस्या भएको छ । वर्षौँ पहिला निर्माण भएको पुलका फल्याकहरु कुहिएर झरीसकेका र बीचका फल्याक मात्रै रहेकाले आवतजावत गर्न अप्ठ्यारो भएको सुर्नया–२ का मोहनबहादुर बिष्टले बताउनुभयो ।

सतबाँझ श्रीभावर सडक वर्षाले अवरुद्ध भएपछि पैदल हिँड्ने बाटोमा पर्ने डोडेश्वर पुल जीर्ण हुँदा समस्या भएको उहाँले बताउनुभयो । गाँउपालिकाको वडा नं १, २ र ३ का स्थानीयहरुले गाउँपालिकाको केन्द्र पुग्न यही पुलको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।

वर्षाको समयमा खोला बढेकाले तर्न नसकिने र पुल पनि जीर्ण भएकाले आवतजावत गर्न समस्या भएको सुर्नया ४ का प्रकाश भाटले बताउनुभयो । डोडेश्वर खोलामा पुल नहुँदा विद्यार्थीलाईसमेत आवतजावत गर्न समस्या भएको रौलेश्वर माविका शिक्षक दिपेन्द्र बिष्टले जानकारी दिनुभयो ।

बंसल्ला,पालीगाडा लगायतका गाउँबाट रौलेश्वर माविमा जाने विद्यार्थीहरुलाई पुल जीर्ण हुँदा समस्या  भएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।