राजीनामा दिएका उपसचिव केसी पुनः समितिमा फर्किए

राजीनामा दिएका उपसचिव केसी पुनः समितिमा फर्किए

धनगढी : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटना जाँचबुझका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिबाट राजीनामा दिएका उपसचिव वीरेन्द्र केसी पुनः समितिमा फर्किनुभएको छ ।

समितिमा प्रदेश ७ को अन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गरेका उपसचिव वीरेन्द्र केसीले बधुबार प्रेस विज्ञाप्ति जारी गर्दै काममा फर्कने बताउनुभएको हो ।

उहाले बुधबार छानबिन समितिका संयोजकसहित भएको छलफलबाट वास्तविक दोषी पत्ता लगाउने सम्बन्धी मन्त्रालय र आफ्नो उद्देश्यमा एक मत भएकाले पुनः छानबिन कार्यमा फर्कने निर्णय गरेको बताउनुभयो ।

गृह मन्त्रालयले भदौ ७ गते सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको थियो।

उक्त समितिमा सदस्य रहेका उपसचिव केसीले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी ’जघन्य अपराधको विरुद्धमा उभिई निर्मलाको आत्मालाई र निजको परिवारलाई समितिको सदस्यका रूपमा न्याय दिन असम्भव देखेको’ र ’शक्तिशाली अपराधीबाट जुनसुकै समयमा हत्या गर्न सक्ने प्रबल सम्भावना रहेको’ भन्दै राजीनामा गर्नुभएको थियो ।