शैक्षिक हड्तालका कारण विद्यालयमा पढाइ ठप्प

शैक्षिक हड्तालका कारण विद्यालयमा पढाइ ठप्प


धनगढी : स्थायीत्वको माग गर्दै नेपाल राहत शिक्षक समितिले गरेको शैक्षिक हड्तालका कारण कैलाली जिल्लाका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प बन्न पुगेको छ । 
दुई दिन देखिको शैक्षिक हड्तालका कारण पठन पाठन ठप्प भए संगै कैलालीका सामुदायिक बिद्यालयमा अध्ययनरत विद्यार्थीको अध्ययन प्रभावित भएको छ ।


स्थयित्व र पेशागत हक हितका लागि विगत केही समय देखि संघर्षरत राहत शिक्षकहरुले आफूहरुको माग पूरा नभएसम्म दवावमूलक कार्यक्रम जारी रहने बताएका छन् । 
राहत शिक्षक समिति, धनगढी उपमहानगरपालिकाका अध्यक्ष लेखराज ओझाले विगत १४ वर्ष देखि कार्यरत राहत शिक्षकहरुको पेशागत सुरक्षा नहुँद राहत शिक्षकको भविष्य अन्यौलमा परेकोले सरकारलाई दवाव दिन शैक्षिक हड्तालमा उत्रिनु भएको बताउनु भयो ।

 
राहत शिक्षकहरुले कैलाली सहित देश भरी नै शैक्षिक हड्ताल गरेको जनाइएको छ । 
सशस्त्र द्वन्दका कारण विगतमा विद्यालयको पठन पाठन प्रभावित भएपछि नेपाल सरकारले सोही समय देखि सामुदायिक विद्यालयको पठन पाठनलाई सुचारु बनाउन राहत शिक्षक दरबन्दी सिर्जना गरी सामुदायिक विद्यालयमा राहत शिक्षक नियुक्त दिन सुरु गरेको थियो । 


राहत शिक्षकको व्यवस्थापछि बिद्यालयको शैक्षिक गुणस्तरमा सुधार आएको दावी राहत शिक्षकहरुको छ । उर्जाशील, बौद्धिक क्षमताद्वारा राज्यलाई आफूहरुले सेवा प्रदान गरिरहेको भएपनि पेशागत सुरक्षाको सवालमा सरकार उदासीन रहेको आरोप उनीहरुको छ । 
देश भरी झण्डै ४० हजार यस्ता राहत शिक्षक कार्यरत रहेको बताइएको छ ।