चोरीका ६ मोटसाइकलसहित ६ जना पक्राउ

चोरीका ६ मोटसाइकलसहित ६ जना पक्राउ

टीकापुर: इलाका प्रहरी कार्यालय टीकापुरले चोरीका ६ मोटरसाइकल सहित ६ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख एवं डीएसपी शिवबहादुर सिंहले विभिन्न मितिमा टीकापुर क्षेत्रबाट चोरी भएका ६ मोटरसाइकलसहित चोरीमा संलग्न २ र चोरीका मोटर साइकल किन्ने थप ४ सहित ६ जनालाई पक्राउ गरी मुद्दा चलाइएको बताउनुभयो । 


कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं.–४ बाट मंगलबार उनीहरूलाई पक्राउ गरी बुधवार इलाका प्रहरी कार्यालय टीकापुरमा पत्रकार सम्मेलनमार्फत बरामद मोटसाइकल, चोरी गर्ने र मोटरसाइकल किन्ने गिरोहका व्यक्तिलाई सार्वजनिक गरिएको हो ।


मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा कैलालीको भजनी नगरपालिका वडा नं.–८ खैलाडका १९ वर्षीय सागर चौधरी र वर्दगोरिया गाउँपालिका वडा न.–४ नौनियाँका १८ वर्षीय रोहित चौधरी र चोरीका मोटरसाइकल खरिदमा संलग्न भएको आरोपमा बौनियाँका २१ वर्षीय रमेश चौधरी, २३ वर्षीय साहिल चौधरी, २५ वर्षीय सरोज चौधरी र २८ वर्षीय ताराराज थारूलाई पक्राउ गरी मुद्दा चलाइएको हो । टीकापुर क्षेत्रबाट मोटरसाइकल चोरेर सागर र रोहितले गाउँ र कमैया शिविरहरूमा १० देखि १५ हजार रूपैयाँमा मोटरसाइकल बेच्ने गरेको प्रहरीले जनाएको छ ।