अनाथ बालबालिकालाई सहयोग

अनाथ बालबालिकालाई सहयोग

बाजुरा : बाजुराको बडिमालिका नगरपालिका–५ मना गाउँका बिचल्लीमा परेका पाँच अनाथ बालबालिकालाई सहयोग जुटेको छ । 
बेलायतमा बस्दै आउनुभएका इशा गुरुङले सङ्कलन गरेर एक लाख ८० हजार सहयोग गर्नुभएको हो । 
यस्तै बडीमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले तीजको दर खानका लागि छुट्याएको १० हजार सहयोग गर्नुभएको छ । 

बुवा ४३ वर्षीय रामबहादुर साउदको क्यान्सरका कारण मृत्यु भएको थियो । बुबाको मृत्यु भएको १० महिनापछि आमा बिर्मा साउदले अर्को विवाह गरेपछि १३ वर्षीया पार्वती, ११ वर्षीया सोबिना, नौ वर्षीया अस्मिता, ७ वर्षीय सुवास र चार वर्षीय रोशन बिच्चलीमा परेका हुन् । 

बिचल्लीमा परेका पाँच भाइबहिनीले अहिले गाउँमा मागेर गुजरा गरिरहेका छन् । बाजुरा क्याम्पसका क्याम्पस प्रमुख सुरेशप्रसाद पण्डितले दुई हजार ५००, जिल्ला समन्वय समितिका सदस्य धनी थापाले एक हजार पाँच तथा अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष कमलकुमारी शाहले दुई हजार सहयोग गर्नुभएको छ । सिर्जना बोगटीले तीजको दर खानका लागि छुट्याएको रकमबाट लत्ताकपडा सहयोग गर्नुभएको छ ।