निलम्बित एसपी विष्टसगै छोरा र मेयरका भतिजाको डीएनए परीक्षण सुरु

निलम्बित एसपी विष्टसगै छोरा र मेयरका भतिजाको डीएनए परीक्षण सुरु

काठमाण्डौ : प्रहरी प्रधान कार्यालयले निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको सत्यतथ्य पत्ता लगाउन निलम्बित एसपी डिल्लीराज बिष्टको डीएनए परीक्षण सुरु गरेको छ । 

बिष्टसहित उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिजा आयुष विष्टको पनि डीएनए परिक्षण सुरु भएको हो । 

एसपी विष्ट कन्चनपुरका तत्कालीन प्रहरी प्रमुख हुन । गत साउन ११ गते कन्चनपुरको भीमदत्त नगरपालिकामा १३ वर्षीय किशोरी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा उनको शव उखुबारीमा भेटिएको थियो। 

प्रहरीले करिब एक महिना लगाएर गरेको अनुसन्धानपछि दिलिपसिंह विष्टलाई अभियुक्त बनाएर उभ्याएपनि स्थानीयले एसपी विष्ट र उनका नातेदारमाथि नै शंका गरेका थिए । 

डीएनए परिक्षणमा निर्दोष ठहर भएपछि दिलिपसिंह सरकारी वकिल कार्यालयको सहमतिमा जिम्मा जमानीमा छुटिसकेका छन्। 

निर्मला स्थानीय रोशनी बमको घरमा गाइड बुक लिन गए पनि साँझबाट बेपत्ता भएकी थिइन्। रोशनी र उनकी दिदीमात्र बस्ने घरमा एसपी बिष्टको आउजाउ रहने गरेको स्थानीयले बताउँदै आएका छन्। 

दुवै दिदी बहिनीपनि सरकारी वकिल कार्यालयको सहमतिमा जिम्मा जमानीमा छुटिसकेका छन्। नेपाल प्रहरी र त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा. हरिहर वस्ती सहितको टोलीले उनीहरु तीन जनाको डीएनए परिक्षण गरिरहेको छ । यी तीनजनाको रगत नमूना लिएर परीक्षणका लागि पठाइसकिएको छ । 

निर्मलाको योनीमा लागेको विर्यका आधारमा तयार पारिएको डिएनए प्रोफाइलसँग उनीहरुको डीएनए प्रोफाइल जुधाएर हेरिनेछ जसले घटनामा उनीहरुको संलग्नता वा असंग्लनता थाहा लाग्नेछ ।