धनगढी। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको लागि कैलाश चौधरीलाई सिफारिस गरेको छ।
कैलाली क्षेत्र १ को 'क' बाट प्रत्यक्ष निर्वाचित चौधरीलाई पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले मन्त्रीका लागि सिफारिस गरेकी हुन्। मङ्गलवार धनगढीमा बसेको नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकले मन्त्रीको सन्दर्भमा केन्द्रबाट निर्णय दिन एक साताको समय सीमा तोकेको थियो। प्रदेश संसदीय दलले एक साता भित्र मन्त्रीको नाम दिन नसक्ने अवस्थामा संसदीय दललाई अधिकार प्रत्यायोजन गर्न भन्दै सर्वसम्मत निर्णय गरिएको थियो।
संसदीय दलका नेता घनश्याम चौधरीले पत्र सङ्ख्या २०८१/०८२ चलानी नम्बर १३ मा निर्णय सम्बोधन गरी जानकारी पठाइदिने भन्दै पार्टी अध्यक्षलाई पत्र पठाएका थिए। सोही पत्रको आधारमा रन्जिताले कैलाश चौधरीलाई मन्त्रीमा सिफारिस गरेको जानकारी संसदीय दलका नेता चौधरीलाई गराइसकेकी छन्।