राष्ट्र बैंकका गभर्नर भन्छन्- क्षमता छ भन्दैमा कसैलाई ९५ वर्षसम्म बैंक चलाउन दिन सकिँदैन

राष्ट्र बैंकका गभर्नर भन्छन्- क्षमता छ भन्दैमा कसैलाई ९५ वर्षसम्म बैंक चलाउन दिन सकिँदैन

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपालले बैंक तथा वित्तीय संस्थाका निक्षेपकर्ताको सुरक्षाका लागि बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको उमेर हद तोकिएको बताएका छन्। बैंक तथा वित्तीय संस्था विश्वासमा आधारित व्यवसाय भएकाले निक्षेपकर्ताको विश्वास कायम राख्न यो निर्णय गरिएको गमर्नर नेपालले स्पष्ट पारेका हुन्।

संसद्‌को अर्थ समिति बैठकमा उपस्थित गभर्नर नेपालले साउन २० गते ल्याएको परिपत्रमार्फत् सञ्चालक र सिइओको उमेर हद तोक्ने आफ्नो निर्णयको बचाउ गरे।

'निक्षेपकर्ताको निक्षेपको सुरक्षाका लागि योग्यता तोकिएको हो,' उनले भने, 'बैंक तथा वित्तीय संस्थामा समस्या पर्ने बित्तिकै त्यसलाई उद्दार गर्नु राज्यको दायित्व हुन्छ। यो व्यक्तिगत सम्पत्ति होइन। त्यसैको सुरक्षाका लागि यो व्यवस्था गरिएको हो।'

उनले क्षमता छ भन्दैमा कोही व्यक्ति बैंकमा आजीवन बसिरहन नसक्ने पनि बताए। 'केही व्यक्तिमा विलक्ष्यण प्रतिभा होला, ९०/९५ वर्षसम्म पनि राम्रो काम गर्नसक्ला,' उनले भने, 'क्षमता छ भन्दैमा मनलाग्दी चलाउन दिन सकिँदैन।'

राष्ट्र बैंकले ल्याएको परिपत्रमा पहिलोपटक बैंकका सिइओ र सञ्चालकको उमेर हद तोकिएको थियो। त्यसको विरोधमा प्राइम बैंकका सिइओ नारायणदास मानन्धरले दायर गरेको रिटमा सर्वोच्च अदालतले परिपत्र कार्यान्वयन नगर्न अन्तरिमा आदेश दिएको थियो।