प्रदेश २ को नामाकरणमा रस्साकस्सी, मधेस या मिथिला

प्रदेश २ को नामाकरणमा रस्साकस्सी, मधेस या मिथिला

जनकपुरधाम – प्रदेश २ को नाम तथा राजधानी तोक्ने विषयमा प्रस्ताव दर्ता गराउन प्रदेशसभाले सूचना गरी गरेपछि प्रदेशको नाम र राजधानीका बारेमा चर्चा तीव्र भएको छ । प्रदेश सरकार गठन भएको करिब डेढ वर्षपछि प्रदेश २ ले नाम पाउने भएको छ ।

जनकपुरधामको चोकचोकमा अहिले प्रदेशको नाम के राख्नुपर्ने भन्ने सम्बन्धमा सबैले आ–आफ्नो तर्क दिँदै आएका छन् । प्रदेशको राजधानी जनकपुरधाम हुने करिब निश्चित भए पनि नामाकरणका सम्बन्धमा सर्वसाधारणदेखि राजनीतिकर्मीहरुसम्म विभाजित रहेका छन् ।

प्रदेश सरकारले प्रदेशको नाम तथा राजधानी कहाँ राख्ने सम्बन्धमा सर्वसाधारणको मनको कुरा बुझ्न प्रदेश नीति आयोगलाई सर्वेक्षण गर्न जिम्मा दिएको थियो र नीति आयोगले ६ महिनापछि आफ्नो प्रतिवेदन मुख्यमन्त्री लालाबाबु राउतलाई बुझाएको थियो । करिब तीन महिना पहिले नै नीति आयोगले आफ्नो प्रतिवेदन बुझाए पनि प्रदेश सरकारले प्रदेशको नाम तथा राजधानी सम्बन्धमा प्रस्ताव ल्याउन सकेको थिएन् ।

प्रदेशको नाम लिएर सर्वसाधारण तथा राजनीतिकर्मीहरुको फरक फरक धारणा रहेको छ । तिनीहरु मिथिला, मिथिला भोजपुरा, मधेस, जानकी, जनक प्रदेश लगायतका नाम बारे वादविवादमा उत्रिनथालेका छन् । सबैले प्रदेशको नाम के हुनु पर्ने सम्बन्धमा विभिन्न तर्कसहित नामको सुझाव दिँदै आएका छन् ।

सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल प्रदेशको नाम मधेस प्रदेश राख्ने अडानमा छन् भने प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस भने यसमा सहमत छैनन् । मिथिलाको ठूलो पहिचान रहेकाले प्रदेशको नाममा मिथिलालाई नछाड्ने अडानमा छन् उनीहरु ।

नेकपाले अहिले प्रदेशको नामकरणबारे औपचारिक निर्णय गरेको छैन् भने नेपाली कांग्रेसले प्रदेशको नाम मिथिला वा मिथिला भोजपुरा हुनु पर्ने भन्दै आएका छन् ।

मधेस आन्दोलनको जगमा बनेको प्रदेश २ सरकारका सत्तारुढ मधेसवादी दल मधेसको ऐजेण्डा लिएर राजनीति गर्दै आएकाले मधेस शब्द नछोड्ने अवस्थामा छन् । तर, कांग्रेस र नेकपाले भने मधेसको पहिचान २२ जिल्ला रहेको भन्दै यसलाई ८ जिल्लामै सीमित गर्नु नहुने बताउँदै आएका छन् ।

प्रदेशको नाम मिथिला वा मिथिला भोजपुरा हुनुपर्ने तर्क नेकपा संसदीय दलका नेता सत्य नरायण मण्डल दिन्छन् । प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको प्रमुख प्रतिपक्षी दल नेकपा भने ‘मिथिला’ प्रदेशको पक्षमा देखिएको छ । मधेश प्रदेश कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने मण्डल बताउँछन् ।

‘प्रदेशको नाम मिथिला वा मिथिला भोजपुरा राख्न सकिन्छ,’ मण्डलले भने, ‘त्यसमा पनि सहमति जुटेन भने सबैको लागि मान्य हुने जानकी प्रदेश नामकरण गर्न सकिन्छ ।’

राजपा नेपालका प्रदेश २ का संसदीय दलका नेता तथा सांसद परमेश्वर साह भने प्रदेश २ को नाम मधेस प्रदेश नै हुनु पर्ने बताए । ‘जनतासँग जुन हामीहरु प्रतिवद्धता जजनाएको छु, जसको लागि यति जनाले अफ्नो सहादत दिएको, मधेशीको नाममा हामीहरु सांसद बनेको छु, मधेशीको नाममा पार्टीहरुको विभिन्न केन्द्रीय पदमा जान्छौँ, मधेसी प्रमाणित गरेर आफ्नो पहिचान बनाउँछु’ उनले भने, ‘यस यस्ता कुरा बिर्सेर हामीहरु यसको विपक्षमा जान्छौ भने मधेसी जनतासँग बैमानी हुन्छ ।

त्यसैले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम हुने हाम्रो ईच्छा छ ।’ सतारुढ दलसँग बहुमत नरहेकोले विभिन्न पार्टीहरुसँग छलफल छलफल गरेर केही घटबढ गरेर पनि प्रदेशको नामाकरण राख्न सक्ने साहले बताए ।

यता नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता राम सरोज यादवले कांग्रेस सुरुदेखि नै मिथिला वा मिथिला भोजपुरा प्रदेशको नामकरणको पक्षमा रहेको बताउँछन् । २२ जिल्लाको मधेस रहेकोले उनले प्रदेशको नाम मधेस प्रदेश स्वीकार्य नहुने दाबी गर्छन् ।

२२ जिल्लाको समग्र प्रदेश भएको भए बिना कुनै शर्त मधेस प्रदेश स्वीकार गर्न तयार रहेको यादव बताउँछन् । तर प्रदेशको राजधानी भने जनकपुरधाममा नै हुनु पर्ने उनी बताउँछन् । राजधानीका लागि आवश्यक सम्पूर्ण भौतिक पूर्वाधारका साथै जनकपुरधाम मध्य भागमा रहेकाले राजधानीबारे कुनै विवाद नरहेको उनको भनाई छ ।

जनकपुर नै राजधानी हुनुपर्ने सवालमा प्रमुख प्रतिपक्षी दल नेकपा, सत्तापक्ष राजपा र नेपाली कांग्रेससमेत सहमत रहेकाले राजधानीको प्रस्ताव दुई तिहाइले पारित हुने लगभग निश्चित रहेको उनको दाबी रहेको छ ।

नेता यादवले पहिचानका लागि लड्दै आएका सत्तारुढ राजपा र फोरमले मिथिलाको पहिचान नै खोस्न लागेको आरोपसमेत लगाए । धार्मिक तथा ऐतिहासिक दृष्टिले यस प्रदेशको नाम मिथिला प्रदेश उपयुक्त नाम रहेकोले यस प्रदेशको नाम यहि हुनुपर्ने बताउँछन् । छलफलमा बसेर अर्को नामबारे समेत पुनर्विचार गर्न सकिने उनको भनाई छ ।

त्यस्तै नेकपा सांसद रामचन्द्र मण्डलले प्रदेशको नामकरण समबन्धमा पार्टीमा कुनै औपचारिक निर्णय नभएको बताए । व्यक्तिगत हिसाबले प्रदेशको नाम मिथिला भोजपुरा मधेस प्रदेश हुनुपर्ने उनको भनाई छ । ‘मिथिला र भोजपुरा हाम्रो पहिचान हो ।

यसलाई हामीले नर्कान सक्दैनौ’ सांसद मण्डलले भने, ‘तर मधेसका लागि पनि धेरैले सहादत दिएका छन् । मधेस पनि हाम्रो पहिचान हो यसलाई पनि हामीले छोड्न मिल्दैन ।’ समग्रमा सबै प्रदेशवासीको पहिचान झल्किने गरी नामकरण गर्नुपर्ने उनको धारणा छ । मिथिला भोजपुरा मधेस प्रदेश लामो नाम भएपनि सांकेतिक हिसाबले यसलाई त्रिकोण प्रदेश भनेर समेत उल्लेख गर्न सकिने उनको तर्क छ ।

प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव पनि प्रदेश सरकारको तर्फबाट मधेश प्रदेशको प्रस्ताव नै दर्ता हुने बताए। राजधानीको विषयमा सत्ता पक्षका केही सांसदको फरक–फरक विचार रहेपनि अधिकांश सदस्य जनकपुर नै राजधानी हुनुपर्ने पक्षमा देखिएको मन्त्री यादवले दाबी गरे।

पहिचानकै आधारमा देशमा संघीयता आएको र प्रदेश निर्माण भएकोले प्रदेश २ को नाम मिथिला प्रदेश हुनुपर्ने मिथिला राज्य संघर्ष समितिका अध्यक्ष परमेश्वर कापडी बताउँछन् ।

‘पहिचान बन्छ भाषा, साहित्य, कला, संस्कृति, जातियता, क्षेत्रियता, ऐतिहासिकता, पौराणिकताको आधारमा हुन्छ । सबैसँग मिलेर पहिचान बन्ने गर्छ र पहिचानको आधारमा प्रदेश बनेकोले यसको पहिचान मैथिली भाषा, मैथिली कला, मैथिली संस्कृति, मैथिली लोकगित, यसको जानकी छ, जनक छ’ उनले भने, ‘मधेसको कुनै ऐतिहासिकता, मौलिकता, सांस्कृति केही नरहेकोले यस प्रदेशको नाम मिथिला प्रदेश नै हुनु पर्छ ।’ पूर्व र पश्चिम क्षेत्रमा मधेस नराख्ने तर मिथिला क्षेत्रलाई मधेस प्रदेश नाम राख्दा यो कदापी मान्य नहुने कापडि बताउँछन् ।

तर, जनकपुरका बुद्धीजीवि तथा राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभ भने प्रदेशको नामकरणमा सबैको पहिचान झल्किनुपर्ने तर्क गर्छन् । वर्तमान राजनीतिक परिवेशमा प्रदेशको राजधानीबारे विवाद नरहे पनि नामकरण सहजै हुन नसक्ने उनको बुझाई छ । प्रदेश नामकरणकै लागि द्वन्द्वको खतरासमेत सिर्जना हुन सक्ने उनको आंशका छ ।

‘मधेसवादी दल मधेसको नामका लागि लडिरहेका छन् । मधेसको नाममा थुप्रैले सहादत पनि दिएका छन् त्यसैले सत्तारुढ दल मधेस शब्द छोड्दैनन् । उनीहरूलाई फेरि पनि राजनीति गर्नु छ’ लाभले भने, ‘तर मिथिला र भोजपुरको पनि पहिचान छ त्यो पहिचान गुम्नेगरी पनि नामकरण गर्नुभएन ।’ नाम लामै भए पनि मिथिला–भोजपुरा–मधेस प्रदेश प्रदेशको नामकरण हुनुपर्ने उनको व्यक्तिगत तर्क छ । सरकार र प्रतिपक्ष कसैसँग दुई तिहाइ बहुमत नरहेकाले नामकरण विवाद लामै चल्ने उनको आशंका छ ।

प्रदेश सभामा १ सय ७ सांसदमध्ये सत्ताधारी समाजवादी पार्टीका ३० र राजपाका २५ सांसद रहेको छ । प्रमुख प्रतिपक्षी नेकपाका ३२ र नेपाली कांग्रेसका १९ सांसद छन् भने संघीय समाजवादी पार्टीका एक सांसद छन् । दुई तिहाइ बहुमतका लागि कम्तिमा ७२ सांसदको समर्थनको आवश्यक छ । तर दुई तिहाइ बहुमत सरकार र प्रतिपक्ष कसैसँग छैन ।