बालबालिकालाई विद्यालय सम्म ल्याउने र टिक्ने वातावरण बनाउँछौँ : प्रदेश सचिव रेग्मी

बालबालिकालाई विद्यालय सम्म ल्याउने र टिक्ने वातावरण बनाउँछौँ : प्रदेश सचिव रेग्मी

धनगढी । सामाजिक विकास मन्त्रालयका सचिव हेमराज रेग्मीले प्रदेश सरकारले शिक्षाका क्षेत्रमा विशेष काम गरिरहेको बताएका छन् ।

बुधवार धनगढीमा भएको बालिका तथा समावेशी शिक्षा सञ्जाल रणनीतिको मस्यौदा तथा कार्ययोजनाको प्रदेशस्तरीय परामर्श कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले प्रदेश सरकार स्थानीय सरकारको अभिभावक पनि भएको हुँदा आफ्नो भूमिका अझ विशेष रहेको बताए ।

“हाम्रा बालबालिका चौरमा, छाना चुहिने घरमा बसी रहेका छन्, खेल मैदान छैन, शौचालय छैन, विद्यालय नै पुगिरहेका छैनन् भने उनीहरुलाई विद्यालय सम्म ल्याउने, विद्यालयमा टिक्ने वातावरण बनाउने र तिनीहरूलाई गुणस्तरीय शिक्षा दिने भन्ने काम हामीले अभिभावक भएर गरिरहेका छौ, उनले भने– शिक्षा क्षेत्रका लागि प्रदेश सरकारले दुई अर्ब रुपैयाँ छुट्टाएको छ ।,” प्रदेश सचिव रेग्मीले दुई अर्ब रुर्पैँया विद्यालयका भवन निर्माणका लागि बढी छुट्टाइएको बताएका छन् उनले बाकी रकम शिक्षक तालिम, विद्यालय बाहिर रहेका बिद्यार्थीहरुका लागि लगायतका काममा छुट्टाइएको बताएका छन् ।  निःशुल्क शिक्षा र गुणस्तरीय शिक्षामा प्रदेश सरकारले विशेष जोड दिइरहेको उनको भनाई छ । प्रदेश सरकारले विभिन्न संघसंस्थाहरुसंग मिलेर काम गरिरहेको  प्रदेश सचिव रेग्मीले बताए ।

शिक्षाका लागि राष्ट्रिय अभियानका सचिव टेकराज अवस्थीले एनसिइले शिक्षाका क्षेत्रमा विभिन्न काम गर्दै आएको बताएका छन् । उनले विभिन्न कारणले गर्दा अझै पनि बालबालिकाहरु विद्यालय पुग्न नसकेको बताएका छन् । राउटे समुदाय, राजी समुदाय लगायतका बालबालिकाहरु विद्यालय सम्म पुगे पनि टिक्न भने नसकेको उनको भनाई छ । 
निःशुल्क शिक्षा भए पनि उनीहरूले विभिन्न बहानामा परेर कामको चपेटामा परेर विद्यालय छोडिरहेको उनले बताए । माथिल्ला कक्षा सम्म धेरै बिद्यार्थीहरु पुग्न नसकेको प्रति उनले चिन्ता व्यक्त गर्दै यसमा विशेष ध्यान दिइनुपर्ने बताए ।
“स्थानीय तहहरूले निर्देशिका बनाएर आफ्ना वडाहरूमा सत प्रतिशत विद्यार्थीहरु विद्यालयमा भर्ना भएको छन् भनेर घोषणा पनि गर्नु पर्दछ, उनले भने – भोली हामी साक्षर सुदूरपश्चिम घोषणा गर्दै छौ, त्यसपछि अर्को अभियान आउँछ शतप्रतिशत बिद्यार्थीहरु विद्यालयमा भर्ना भएको वडा घोषणा, पालिका घोषणा र प्रदेश घोषणा गर्नुपर्ने आगामी कार्य योजना छ।,” प्रदेश र स्थानीय तहसँग पनि समन्वय गरेर कार्यक्रमहरु सञ्चालन भइरहेको उनको भनाई छ । 

बालिका तथा समावेशी शिक्षा सञ्जाल रणनीतिको मस्यौदा तथा कार्ययोजनाको प्रदेशस्तरीय परामर्श कार्यक्रममा छलफल तथा सुझाव संकलन गरिएको थियो । बालिका तथा समावेशी शिक्षा सञ्जाल रणनीतिको मस्यौदा तथा कार्य योजना प्रस्तुतीकरण वरिष्ठ शिक्षा अधिकृत जयदेव महराले गरेका हुन् ।

युरोपियन युनियनको आर्थिक सहयोग, पिपुल इन नीड (पीन)को प्राविधिक सहयोग तथा शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ), नेपाल अपाङ्ग महिला संघ (एनडिडब्लुए) र अकाउन्टीबिली ल्याब नेपालको सहकार्यमा एक्सेस परियोजना अन्तर्गत कार्यक्रम बुधवार सम्पन्न भएको हो । कार्यक्रमको आयोजना सामाजिक विकास मन्त्रालयले गरेको हो ।

कार्यक्रममा प्रदेश, पालीकाका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत पत्रकारको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन एनसिइ नेपालका प्रदेश अधिकृत एकराज बडुले गरेका हुन् ।