दार्चुलाको व्याँस-१ छाङरू जोड्ने घोरेटो बाटोः ज्यानै जोखिममा राखेर निर्माण गर्दै कामदार

दार्चुलाको व्याँस-१ छाङरू जोड्ने घोरेटो बाटोः ज्यानै जोखिममा राखेर निर्माण गर्दै कामदार

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर २ दुम्लिङ देखि वडा नम्बर १ छाङ्गरु सम्म जोड्ने घोरेटो बाटो कामदारहरूले ज्यानको बाजी लगाएर निर्माण गरिरहेका छन् ।

चालु आर्थिक वर्षमा व्याँस गाउँपालिकालाई अर्थ मन्त्रालयले ५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरी चालु आर्थिक वर्षमै काम सम्पन्न गर्ने गरी काम भइरहेको छ । गाउँपालिकाले टेन्डर आह्वान गरेपछि मिसन–देवहरि जेभी निर्माण कम्पनीले ठेक्का पाएर सात ठाउँबाट काम गरिरहेको छ ।

भिर पाखा र अप्ठेरो ठाउँमा बर्षात भन्दा पहिले नै काम सम्पन्न गर्ने गरी काम भइरहेको गाउँपालिकाका इन्जिनियर जगत डडालले जानकारी दिए । अहिले घाँटी बगर, माल्पा, दोपखे, तोला, गिरकिच्चे, बुदी र अपीखोलामा पर्ने अप्ठेरो भिरपाखामा ज्यानको बाजी लगाएरै कामदारहरु काम गरिरहेका छन् । माल्पा क्षेत्रको कामको जिम्मा लिएका स्थानीय जनक सिंह धामीले आफ्नो क्षेत्रमा रहेको काम ९० प्रतिशत सम्पन्न भएको जानकारी दिए ।

समग्रमा झन्डै तीस किलोमिटर घोरेटो बाटो निर्माणको ७५ प्रतिशत काम सम्पन्न भएको गाउँपालिकाका इन्जिनियर डडालले बताए । महाकाली किनारमा रहेको चट्टान खोपेर ज्यानको प्रवाह नगरी आरसिसी पुल तथा रेलिङ निर्माण हुदैँछ भने अन्य क्षेत्रमा बाटो मर्मतको काम भइरहेको छ ।

२०८२ जेठ ५ गते सम्झौता गरी काम थालेको देवहरि निर्माण सेवा कम्पनीले चालु आर्थिक वर्ष भित्रै काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनीका प्रमुख केशव बहादुर पालले जानकारी दिए । महाकाली नदी किनारमा कडा चट्टानी भूभागमा धमाधम काम भइरहेको उनले बताए।