बाजुरा। बाजुराको बाम्का बजारका आगलागी पीडितका लागि हालसम्म एक करोड सहयोग गरिएको छ । २०८२ जेठ २३ गते दिउँसो भएको भीषण आगलगीबाट पीडितका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट राहत सामग्री तथा आर्थिक सहित एक करोड सहयोग गरिएको हो । बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँको संयोजकत्वमा बनेको राहत संकलन तथा व्यवस्थापन समितिका अनुसार हालसम्म ८३ लाख ६९ हजार ६ सय १७ रुपैया आर्थिक सहयोग गरेको छ ।
त्यस्तै नगर प्रमुख राम बहादुर बानियाँले विभिन्न निकायबाट पुनःस्थापनाका लागि करिब १८ लाख बराबरका आवश्यक सामग्री सहयोग गरिएको बताए । उक्त आगलागीबाट पीडितका लागि यसअघि सुदूरपश्चिम प्रदेश सरकारले केही राहत सामग्री सहित ४० लाख आर्थिक सहयोग गर्ने घोषण गरेको थियो । त्यस्तै पीडितलाई जिल्लाका स्थानीय तह, विभिन्न व्यक्ति तथा गैरसरकारी संघ संस्थाबाट समेत आर्थिक सहयोग भएको छ ।
त्रिवेणी नगरपालिकाले आगलागी पीडितलाई १० लाख सहयोगको घोषणा गरेको छ भने बुढीगंगाले ५ लाख रुपैयाँ खातामा जम्मा गरेको थियो । त्यस्तै बाम्का बजारका व्यवसायीको पहलमा मात्रै पीडितका लागि ९ लाख ३ हजार २ सय ८० र बाजुरा उद्योग वाणिज्य संघको पहलमा ३ लाख ५४ हजार १ सय ५० संकलन भएको थियो । त्यस्तै जिल्ला प्रशासन कार्यालय बाजुरा लगायत विभिन्न निकाय तथा संस्थाबाट राहत सामग्री सहयोग भएको जनाएको छ ।
आगलागीबाट ध्वस्त भएको बाम्का बजारलाई पुरानै स्वरुपमा ल्याउन धमाधम टहरा निर्माण कार्य समेत अन्तिम चरणमा पुगेको जनाएको छ । २०८२ जेठ २३ गते शुक्रवार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्यास पड्किएर आगलागी भएको थियो । उक्त भीषण आगलागीबाट करिब एक दर्जन बढी पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन केहीमा आंशिक क्षति भएको छ ।