कृष्णपुर नगरपालिकाले गर्यो किसानलाई एक हजार आठ सय ४४ फलफूलका बिरुवा वितरण

कृष्णपुर नगरपालिकाले गर्यो किसानलाई एक हजार आठ सय ४४ फलफूलका बिरुवा वितरण

कञ्चनपुर । किसानलाई फलफूल खेतीतर्फ आकर्षित गर्न कञ्चनपुरको कृष्णपुर नगरपालिकाले एक हजार आठ सय ४४ फलफूलका बिरुवा अनुदानमा वितरण गरेको छ।

नगरपालिकाको कृषि विकास शाखाले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत बर्खे फलफूलका बिरुवा वितरण कार्यक्रमअन्तर्गत किसानलाई दुई प्रजातिका आँप र लिचीका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरेको हो। प्रति घरघुरीलाई नागरिकताका आधारमा दुई आँप र दुई लिचीका बिरुवा वितरण गरिएको नगरपालिकाको कृषि विकास शाखा प्रमुख लालबहादुर धामीले बताए।

आँप दशहरी ६०० बिरुवा, आम्रपाली ४४४ र लिची शाही ८०० गरी एक हजार ८४४ बिरुवा अनुदानमा वितरण गरिएका छन्। आँप आम्रपालीप्रति बिरुवा ११५, दशहरीप्रति बिरुवा ८५ र लिची शाही प्रति बिरुवा ८५ मा खरिद गरी किसानलाई आधा मूल्यमा उपलब्ध गराइएको शाखा प्रमुख धामीको भनाइ छ। “किसानलाई व्यावसायिक फलफूल खेतीतर्फ प्रोत्साहित गर्न यो कार्यक्रम सञ्चालन गरेका हौँ”, उनले भने, “फलफूल खेती नगदे बाली भएकाले किसानको आर्थिक अवस्थालाई दिगो बनाउनुका साथै पोषणमा सुधार ल्याउँछ।”