५० जना किसानले उजुरी दिएपछि आरोपित प्रीयंका सम्पर्क बिहिन

५० जना किसानले उजुरी दिएपछि आरोपित प्रीयंका सम्पर्क बिहिन

अत्तरिया । कैलालीको गोदावरीमा पावर टिलर दिने भन्दै ठगिएका ५० किसानले उजुरी दिएपछि आरोपित प्रीयंका चौधरी फरार भएकी छिन । मंगलबार एक वर्ष अघि अनुदानमा पावर टिलर लगायत कृषि उपकरण दिने भन्दै ठगिएका गोदावरी नगरपालिका ४, ६ र ८ का किसानले उजुरी दिएपछि उनी फरार भएकी हुन ।

मंगलबार दिनभरि ठगिएका किसानहरूले इलाका प्रहरी कार्यालयमा प्रीयंकालाई सम्पर्कमा ल्याउने प्रयास गरेका थिए । उनका ससुरा गोदावरी नगरपालिका - ६ का वडाध्यक्ष जग्गुराम चौधरीले उनी महेन्द्रनगरमा रहेको माइती घरमा गएको बताए पनि किसानहरूले प्रत्यक्ष उपस्थित गराउन माग गरेका थिए । तर, दिनभरि फोन सम्पर्कमा नआएपछि किसानहरूले उजुरी दिएका थिए ।

उजुरी दिएपछि इलाका प्रहरी कार्यालयले उनको खोजी गर्दा सम्पर्कमा नआएको जनाएको छ । वडाध्यक्षले भने अनुसार प्रीयंका माइती घरमा पनि फेला नपरेको प्रहरी श्रोतले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रण बहादुर चन्दले उजुरी परेपछि प्रीयंकाको खोजी भइरहेको बताए ।

मंगलबार ठगिएका किसानहरूले ३६ लाख १७ हजार बराबरको रकम प्रीयंकाले उठाएको भन्दै उक्त रकम फिर्ता गराई पाउ भन्दै उजुरी दिएका छन् । उजुरी कर्ता मध्येका एक मान बहादुर चौधरीले दिनभरि प्रहरी कार्यालयमा छलफलका लागि बस्दा पनि प्रीयंका सम्पर्कमा नआएपछि उजुरी दिएको बताए । उनले प्रीयंकाले नै गाउँमा आफूहरूलाई भेला गरी २ महिना भित्रमा किसानहरूले माग गरेका कृषि उपकरण दिने भन्दै २०८१ साउनमा पैसा सङ्कलन गरे पनि अहिले सम्म कुनै सामान नपाएको बताए । किसानहरूले दिएको उजुरीमा प्रीयंकाले पछिल्लो समय रकम र सामान नदिने भन्दै उल्टै धम्की दिने गरेको उल्लेख छ ।
यसैबिच पावर टिलर दिने भन्दै गोदावरीमा रकम संकलन गरेकी सोनम चौधरीको नामको उजुरी भने फिर्ता गरिएको छ । उनीबाट ठगिएका ४४ जना किसानले उजुरी दिने तयारी गरेपनि सोनमले १५ दिनमा रकम फिर्ता गर्ने मौखिक सहमती गरेपछि किसानहरुले उजुरी प्रहरी कार्यालयमा नबुझाइ फिर्ता लगेका हुन ।

सुरो नेपालकी अध्यक्ष खड्का सहित प्रीयंकाकी आमा सुनिता चौधरीलाई प्रहरीले जेठ १७ गते काठमाण्डौंबाट पक्राउ गरेर कञ्चनपुर ल्याइसकेको छ । दुवैजना विरुद्ध कञ्चनपुरको कृष्णपुरका किसानले उजुरी दिएका थिए । दुवै जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।