एक महिलाको रहस्यमय मृत्यु,हत्याको आशंका

एक महिलाको रहस्यमय मृत्यु,हत्याको आशंका

कैलाली । कैलालीको गोदावरी नगरपालिका १० मालाखेतीमा एक महिलाको रहस्यमय मृत्यु भएको छ । मालाखेतीकी २४ वर्षीया तुल्सी फुलाराको घरभित्रै झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

फुलाराको शनिबार राति झ्यालमा झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए । उनले आधा शरिर सुत्ने खाटमा रहेको अवस्थामा शव फेला परेकाले मृत्यु शंकास्पद रहेको बताए ।

शरिरमा पनि निलडाम भेटिएको छ। अनुसन्धानका लागि प्रहरीले तुल्सी फुलाराका श्रीमान प्रशान्तलाई नियन्त्रणमा लिएको छ । 

माइती पक्षले पनि तुल्सीले आत्महत्या नगरेर हत्या नै भएको दावीसहित प्रशान्तविरुद्ध किटानी जाहेरी दिएका छन् । तुल्सीका दाई प्रभाष भट्टले आधा शरिर सुत्ने विस्तारामा रहेको अवस्थामा आत्महत्या हुनै नसक्ने भन्दै आफ्नी बहिनीको हत्या भएको बताए ।

उनले प्रशान्तले आफ्नी बहिनीलाई पटक पटक कुटपिट गर्ने गरेको बताउँदै आजित भएर बहिनी केही समय माइतीमा बस्दै आएको बताए । तर केही समय पहिला मात्रै प्रशान्तले आईन्दा कुटपिट नगर्ने बताएपछि बहिनीलाई पठाएको बताए ।

फुलारा र भट्टको डेढ वर्ष अगाडि मागी विवाह भएको थियो ।