एसपिएमा "विएचएम" र "विआइएम" विषयको औपचारिक उद्घाटन

एसपिएमा "विएचएम" र "विआइएम" विषयको औपचारिक उद्घाटन

धनगढी । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक सुदूरश्चिमाञ्चल एकेडेमी (एसपिए) ले नयाँ विषय अन्तर्गत त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा  ब्याचलर अफ होटल म्यानेजमेन्ट (विएचएम)  र ब्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (विआइएम) कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गरेको छ ।

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टको प्रमुख आतिथ्यतामा आज एक समारोहका बिच दुबै नयाँ शैक्षिक कार्यक्रमको उद्घाटन गरिएको हो । 

एकेडेमीका प्रवन्ध निर्देशक सुवास शाहीका अनुसार कलेजले दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले यी दुई विषयहरू सञ्चालनमा ल्याइएको हो । दुवै विषय टेक्निकल विषय हुन ।

स्नातक तहमा प्राविधिक तथा व्यवसायिक शिक्षा लिन चाहने विद्यार्थीहरूका लागि विएचएम उपयुक्त विषय  हो ।  विएचएम विषय अध्ययन गर्न प्लस टु मा जुनसुकै विषय लिएर जिपिए १.८ वा कम्तीमा दोस्रो श्रेणी आवश्यक पर्दछ ।

यस विषयको मुख्य उद्देश्य दक्ष तथा प्राविधिक जनशक्ति उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा रोजगार प्राप्त गर्न सफल गराउनु हो । यो कोर्ष ६ महिनाको सेमेस्टर अनुसार ८ सेमेस्टरमा बाडेर पढाइन्छ । व्यवस्थापन यो कोर्ष पूरा गर्नका लागि ४ लाख ९३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । एक सेमेस्टरमा ३३ जना विद्यार्थीहरुले पढ्न पाउने विएचएम कार्यक्रम संयोजक डिल्लीराज भण्डारीले बताउनुभयो ।

यसैगरी व्यवस्थापन र कम्प्युटर शिक्षा मिलाएर पठन पाठन हुने विषय हो व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट  । यो विषयमा ४० प्रतिशत व्यवस्थापन र ६० प्रतिशत कम्प्युटर सफटवेयर पढाई हुन्छ । यो विषय पनि जुनसुकै संकायबाट प्लस टु मा जिपिए १.८ वा कम्तीमा दोस्रो श्रेणी आवश्यक पर्छ । यो कोर्ष ६ महिनाको सेमेस्टर अनुसार ८ सेमेस्टर हुन्छ ।

यसको लागि ४ लाख ४९ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । प्राक्टिलकमा आधारित भएको हुनाले अन्य विषयको तुलनामा केही महंगो भए पनि  प्रवन्ध निर्देशक  शाही अनुसार यस कलेजमा अन्य कलेजको तुलनामा सस्तो हुनेछ ।

यस विषयमा एक सेमेस्टरमा ३३ जना विद्यार्थीले अध्ययन गर्न पाउनेछन । एकेडेमी व्यवस्थापनका अनुसार यी दुवै विषयका लागि दक्ष तथा अनुभवी प्राध्यापकहरुको व्यवस्था गरिएको छ ।

यी विषयहरुको इन्टन गर्नका लागि विद्यार्थीहरुको रुचि क्षमता अनुसार जापान, चीन तथा अन्य राष्ट्रहरुका साथै नेपाल भित्रका विभिन्न फाइभ स्टार होटल तथा अन्य कम्पनीहरुमा पढाउने व्यवस्था गरिएको छ ।

दुवै विषयको प्रवेश परीक्षा (सि म्याट) यही भदौ २१ गते हुनेछ भने फाराम भदौ ११ गतेभित्र भरीसक्नु पर्नेछ । प्रवेश परीक्षा त्रिभुवन विश्वविद्यालयले नै लिनेछ । 
कलेज व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र बहादुर शाहीका अनुसार कलेजले छुट्टै सुविधा सम्पन्न भवनमा यि विषयहरुको पठन पाठन सञ्चालन गरिरहेको छ । यस क्षेत्रको समग्र विकासका लागी यी विषयहरुको अध्ययन तथा अध्यापनले महत्वपुर्ण योगदान दिनसक्ने अध्यक्ष शाहीले विश्वास व्यक्त गर्नुभयो । 

यस प्रदेशको मुटुको रुपमा रहेको धनगढीमा सञ्चालित एसपिएले विभिन्न संकाय अन्तरगत नयाँ, युग सुहाउदो, सिप र रोजगारमुलक विषयको अध्यापन गराउदै आएको छ ।