थारू समुदायको अटवारी पर्व सुरू

थारू समुदायको अटवारी पर्व  सुरू

थारु समुदायको बसोबास रहेक जिल्लाहरुमा आज धुमधामका साथ अट्वारी पर्व मनाइदै छ । पश्चिम नेपालका दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका थारु समुदायले अट्वारी पर्व धुमधामसँग मनाउने गर्छन । 

प्रदेश सातका कैलाली कञ्चनपुरमा वसोवास गर्ने थारु समुदायमा अटवारीको रौनकता छाएको छ । हरेक वर्ष कृष्ण जन्माष्टमीपछिको दोस्रो आईतबार र कुशेऔंसी पछिको पहिलो आईतबारका दिन अटवारी पर्व मनाउने गरिएको छ ।

प्रदेश सातको सरकारले अटवारी पर्वको अवसरमा सार्वजनिक विदा समेत दिएको छ । अटवारी मुलतः थारु समुदायका पुरुषले मनाउने पर्व हो । तर, थारु समुदायका महिला पनि अटवारी व्रत बस्ने गर्दछन ।

थारु समुदायको यो माघीपछिको दोस्रो प्रमुख सांस्कृतिक, सामाजिक पर्व रहेको छ । अटवारीको अघिल्लो दिन अर्थात् शनिबार मध्य रातीमा दर खाएर यो पर्व सुरु हुन्छ । आइतबार ब्रत बस्ने गरिन्छ । साँझ प्रत्येकले आफ्नो घरको छुट्टै कोठा लिपपोत गरेर चोखो रूपमा रोटी, पूरी पकाएर अटवारी पुजा गर्ने गर्दछन् ।

अटवारी पुजामा रोटी, काँक्रो, दही, केरा, बेलौटी लगायतका अग्रासन झिकेर पूजा गर्ने गरिन्छ । त्यसको भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी र भातको फरहार गरिन्छ ।

फरहारपछि आफ्ना विवाहित चेलीबेटीलाई अग्रासन दिन जाने चलन रहेको छ । अटवारी माईतीले आफ्ना चेलीबेटीलाई सम्मान दिने तथा दाजुभाई र दिदीबहिनीबीच मायाप्रेम साट्ने पर्वका रूपमा स्थापित छ । त्यस्तै, अटवारीलाई एकता, विजय तथा भातृत्व प्रेमको प्रतीकका साथै बल र सुरक्षाको प्रतीकका रुपमा मनाईने गरेको छ ।