डिआइजी बस्नेतको नेतृत्वमा निर्मला हत्याकाण्ड छानबिन गर्न नयाँ समिति

डिआइजी बस्नेतको नेतृत्वमा निर्मला हत्याकाण्ड छानबिन गर्न नयाँ समिति

काठमाडौँ : केही दिनअघिमात्र एआइजीमा बढुवा सिफारिस भएका डिआइजी धिरु बस्नेतको संयोजकत्वमा निर्मला पन्तको बलात्कारपछि हत्याको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले नयाँ समिति बनाएको छ।
यसअघि भदौ १४ गते एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाए पनि परिवर्तित अवस्थामा समितिलाई अपग्रेड गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले जानकारी दिनुभयो ।

डिएनए परीक्षणका क्रममा प्रहरीले उभ्याएको अभियुक्त फर्जी भएको प्रमाणित भएको र गृहमन्त्रालयले दुई डिएसपीसहित थप पाँच प्रहरी अधिकारीलाई निलम्बन गरेपछि अनुसन्धानलाई अझ तीव्र र गहन बनाउन डिआइजी बस्नेतको संयोजकत्वमा नौ सदस्यीय समिति प्रहरी प्रधान कार्यालयले बनाएको हो। यसमा एसएसपी निरज शाही पनि छन्।

यो समितिले निलम्बनमा परेका प्रहरी अधिकारीहरुलाई काठमाडौँ झिकाएर बयान लिने र अनुसन्धान गर्ने काम सुरु गरेको प्रहरी प्रवक्ता थापाले जानकारी दिनुभयो ।

‘निर्मलाको हत्याकाण्डमा प्रहरीको कमजोरी स्पष्ट भइसकेको छ, यो समितिले कोको दोषी छन् भन्ने पत्ता लगाएर कारबाहीका लागि सिफारिस गर्ने थापाले बताउनुभयो ।

गृहद्वारा गठित समितिले प्रहरी अनुसन्धान कमजोर रहेको स्पष्ट भएको प्रतिवेदन गृहमन्त्री रामबहादुर थापा बादललाई दिएको थियो ।साभार: देश सञ्चार