पहिलोपटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगेको संख्या घट्यो

पहिलोपटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगेको संख्या घट्यो

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलो पटक बाह्रसिंगेको संख्या घटेकोे छ । सन् २०१४ मा गरिएको गणनाको तुलनामा निकुञ्जमा ५५ वटा बाह्रसिंगे घटेको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले गत बैशाखमा गरेको गणना अनुसार बाह्रसिंगेको संख्या २ हजार २४६ रहेको छ । जसमध्ये ५२२ भाले, एक हजार ५२३ पोथी र २०१ पाठापाठी छन् ।

सन् २०१४ मा गरिएको गणनाअनुसार शुक्लाफाँटामा बाह्रसिंगेको संख्या २ हजार ३०१ थियो । शुक्लाफाँटामा हरेक गणनामा बाह्रसिंगेको संख्या बढ्ने गरेकोमा यस वर्ष घटेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौडेलले बताए । उनले अघिल्लो वर्षको तथ्यांकका आधारमा बाह्रसिंगेकोे संख्यामा कमी देखिए पनि धेरै संख्या नघटेको बताए ।

शुक्लाफाँटाबाट चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज १० वटा बाह्रसिंगेको स्थानान्तरण गरिएको बताउँदै उनले वन्यजन्तुको गणनामा गर्दा ‘हेडकाउण्ट विधि’ बाट गरिने भएकाले १० प्रतिशत तलमाथि पर्दा सामान्य रुपमा लिइने प्रष्ट पारे । शुक्लाफाँटामा स्थापनाकाल (सन् १९७६) मा बाह्रसिंगेकोे संख्या ९ सय रहेको थियो ।