बैतडीमा नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा समस्या

बैतडीमा नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा समस्या

बैतडी : नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा बैतडीका नागरिकलाई सास्ती भएको छ । प्रभावकारी रुपमा सेवा दिन नसक्दा यहाँका नागरिक अधिकांश समय सञ्चार विहीन हुने गरेका छन् ।
जिल्लाको सबैभन्दा बढी दुर्गम मानिएको सिगास गाउँपालिकामा नेपाल टेलिकमको समस्या रहेको छ । सिगास गाउँपालिकाको वडा नं २ गाँजरी, वडा नं ५ ढुंगाड र वडा नं ६ थलाकडा मा बढी समस्या हुने गरेको स्थानीय भान बहादर बोहराले जानकारी दिनुभयो । 

२०७३ सालसम्म एनसेलको सेवा प्रयोग गरिरहेका सिगासका नागरिक त्यसयता स्मार्ट सेलको प्रयोग गरिरहेका छन् । स्मार्ट सेलको पनि वर्षातको समयमा नेटवर्क नआउने स्थानीय नागरीकको भनाइ छ ।
जिल्लाको तल्लोस्वाराडमा पर्ने शिवनाथ गाउँपालिका, पञ्चेश्वर पञ्चेश्वर गाउँपालिका र मेलौली नागरपालिकाका सबै नागरिकले नेपाल टेलिकमको पहुँच बाहिर रहेका छन् ।

जिल्लाको तल्लोस्वराड क्षेत्रमा नमस्ते मोबाईलले समेत राम्रोसंगकाम नगर्दा सञ्चारबिहीन हुन बाध्य भएका शिवनाथका स्थानीय वीरेन्द्र महताले बताउनुभयो । विद्युत सेवा नहुँदा नेपाल टेलिकमका टावर सोलारवाट सञ्चालनमा रहेकाले बर्षातको समयमा सञ्चारबिहीन हुनुपरेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर साउँदले बताउनुभयो । 

यस क्षेत्रका केही गाबिस मा पछिल्लो समय नेपाली फोनले काम गर्न थाले पनि अधिकांश ठाउँहरुमा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड फोन सेवा ले काम नगर्ने स्थानीय बासिन्दा जगदिश पन्तले बताउनुभयो ।

पञ्चेश्वर गाउँपालिका पनि नेपाल टेलिकमको मोबाईल सेवा प्रभावकारी नहँुदा समस्या हुने गरेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो । 

मोबाइल नेटवर्कले काम नगर्दा अधिकांस समय सञ्चारबिहीन हुनुपरेको छ । 
तल्लोस्वराडका साविकका आम्चोरा, कुलाउ, शिवनाथ, रोडिदेवल, महारुद्र लगायतका गाबिसमा अझै फोन सेवा सुचारु नहुदाँ स्थानिय मर्कामा परेका हुन् । त्यस क्षेत्रका नागरिक एनसेल र स्मार्ट सेलको मोबाईल सेवा प्रयोग गरिरहेका छन् ।

टेलिकमले पछिल्लो समय बिभिन्न ठाउँमा टावर राखी सेवा बिस्तार गर्न थाले पनि काम सम्पन्न नहुँदा तल्लोस्वोराडका स्थानिय बासिन्दा फोन सेवा बाट बन्चीत भएका हुन् ।

यस्तै पुर्चौडी नगरपालिकामा पनि नेपाल टेलिफोनको टावर बेलाबेला बिग्रने भएको समस्या भएको छ । 
नेपाल टेलिकम बैतडीले धेरै ठाउँमा सोलारबाट टावर सञ्चालनमा रहेकोले समस्या रहेको जनाएको छ । 
पछिल्लो समय बिभिन्न ठाउँमा टावर राखी सेवा बिस्तार गर्न थालकोले केही समयपछि समस्या समाधान हुने भएको छ । बैतडीमा हाल नेपाल टेलिकमका १७ टावर सञ्चालनमा रहेका छन् ।