निर्मला हत्याको अनुसन्धानमा खटिएका प्रहरीलाई काठमाडौं बोलाइयो, मामाकै भूमिका शंकास्पद !

निर्मला हत्याको अनुसन्धानमा खटिएका प्रहरीलाई काठमाडौं बोलाइयो, मामाकै भूमिका शंकास्पद !

काठमाडौं : निर्मला पन्तको हत्यापछि अनुसन्धानका लागि खटिएका प्रहरी अधिकारीमाथि नै छानबिन हुने भएको छ । सरकारले त्यसका लागि डीआईजी धिरु बस्न्यातको नेतृत्वमा छानबिन समिति गठन गर्नेछ । उक्त समितिले निलम्बनमा परेका ६ जना प्रहरी र अनुसन्धानमा रहेका बाँकी प्रहरीमाथि नै छानबिन गर्ने छ । 

सरकारले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा बनाएको समितिले प्रहरीकै भूमिका शंकास्पद भएको भन्दै प्रारम्भीक प्रतिवेदन बुझाएपछि सोही आधारमा प्रहरीमाथि नै छानबिन गर्न लागिएको हो ।

प्रहरी प्रवक्ता शैलेश थापाका अनुसार समितिमा एसएसपी निरजबहादुर शाही, एसपी उत्तम सुवेदीलगायतका सदस्य रहेका छन् ।

सरकारले यसअघि एसपी उत्तम सुवेदीको नेतृत्वमा पनि छानबिन समिति बनाएको थियो । उक्त समितिलाई डीआईजीको नेतृत्वमा फराकिलो बनाइएको प्रहरीले जानकारी दिएको छ । यसैबीच गृह मन्त्रालयले निर्मला हत्या प्रकरणमा अनुसन्धानमा खटिएका सबै प्रहरीलाई काठमाडौं बोलाएको छ ।

उनीहरु सबैलाई बस्न्यातको समितिले छानबिन गर्नेछ । यसैबीच निर्मला पन्तको हत्यापछि शव व्यवस्थापनका लागि आफ्नै मामाले नै दबाब दिएको भन्दै अधिकारकर्मीहरुले आफ्नै मामाको भूमिका नै शंकास्पद रहेको बताएका छन् ।

यसअघि पत्रकार सम्मेलनमा निर्मला पन्तका बुवा यज्ञराज पन्तले पनि निर्मलाको मामाको भूमिकाका विषयमा प्रश्न उठाएका थिए । प्रदर्शनकारीले हत्यारा पत्ता नलागेसम्म दाहसंस्कार नगर्न आग्रह गरेको भएको पनि मामा तीर्थ भण्डारीले दाहसंस्कार गर्नैपर्ने अडान राखेको स्थानीय बताउँछन् ।

 बाह्रखरी अनलाइनबाट साभार