आशा र आशंका बोकेर फर्किए निर्मलाका आमाबाबु

आशा र आशंका बोकेर फर्किए निर्मलाका आमाबाबु

१३ वर्षीया छोरीको बलात्कार र हत्या भएको ५० दिन नाघ्दा पनि अपराधी किन समातिएनन् ? सक्कली अपराधी लुकाउने उद्देश्य छैन भने शृंखलाबद्ध रूपमा नक्कली अभियुक्त किन खडा गरिएको छ ?

सिंगो देश एकजुट भएर आवाज उठाउँदा, सडकमा रगत बगाएर बलिदानी दिँदा पनि सरकार जवाफदेही हुँदैन भने बोल्नै नसक्ने निमुखाले न्याय कसरी पाउलान् ? यिनै प्रश्नको भारी प्रधानमन्त्रीको अगाडि बिसाएर जवाफमा केही आशा र आशंका बोकी घर फर्किएका छन् निर्मलाका बाबुआमा । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । 

राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई भेट्ने, घटनाको विवरण सुनाउने र न्यायको याचना गर्ने उद्देश्यले साताअघि काठमाडौं आइपुगेका थिए निर्मलाका आमा दुर्गादेवी र बाबु यज्ञराज । काठमाडौं आएकै दिनदेखि प्रधानमन्त्रीलाई भेट्न गरेको प्रयास फर्कने दिन सोमबार मात्र सफल भयो । प्रधानमन्त्रीसँग भेट मिलाउने जिम्मा लिएकी नेकपा नेतृ निरु पाल नागरिक संघर्ष समितिकी संयोजक मीना भण्डारीसँग निरन्तर सम्पर्कमा थिइन् ।

प्रश्नको भारी प्रधानमन्त्रीको अगाडि बिसाएर जवाफमा केही आशा र आशंका बोकी घर फर्किएका छन् निर्मलाका बाबुआमा ।

‘हामीले यहाँ आएकै दिनबाट प्रधानमन्त्रीलाई भेट्न खोज्यौँ, निरुजीले फोन गरेर प्रधानमन्त्रीले पनि भेट्न चाहेको भन्नुहुन्थ्यो, तर भेट हुँदैनथ्यो, आइतबार अब भेट नहुने हो भने हामी हिँड्छौँ भनेपछि उहाँले सोमबारका लागि समय मिलाउनुभयो,’ मीनाले भनिन् ।

राष्ट्रपतिसँगको भेटको पहल पनि निरुले नै गरेकी थिइन् । मंगलबार भेट्ने समय मिलेको जानकारी उनले नै दिएकी थिइन् । ‘मंगलबार राष्ट्रपतिले भेट्नुहुन्छ, समयचाहिँ तोकेको छैन, तपाईंहरू प्लेनको टिकट क्यान्सिल गर्नू भनेर हामीलाई निरुजीले जानकारी गराउनुभएको थियो,’ मीना भन्छिन् ।

तर, आइतबार प्रधानमन्त्रीसँगको भेट असहज भएपछि राष्ट्रपतिसँग हुने भनिएको भेट अचानक रद्द भयो । ‘राष्ट्रपति पनि छोरीकी आमा हुनुहुन्छ, त्यसैले उहाँलाई आफ्नो व्यथा सुनाएर मन हलुका बनाउने धोको थियो, आश्वासन पनि पाएका थियौँ, तर अन्तिममा उहाँको समय छैन, १० दिनसम्म व्यस्त हुनुहुन्छ भन्ने जानकारी आयो, धोको अधुरै रह्यो,’ घर फर्किंदै गरेकी आमा दुर्गाले विमानस्थलमा दुःखेसो पोखिन् ।

जाँदाजाँदै आमाबाबुका प्रश्न

१. प्रधानमन्त्रीले टेलिभिजनमा बोलेको कुराले हाम्रो मन पिरोलिएको छ । निर्मला पन्तको पोस्टमार्टमपछि उनको शव मेयरको आँगनमा लगियो भनेर उहाँले भन्नुभो । शव महाकाली अञ्चल अस्पतालबाट सीधै दाहसंस्कारका लागि लगिएको हो । कसैको घरमा लगिएको छैन । यति खुलस्त विषयमा पनि उहाँलाई गलत जानकारी छ भने अपराध अनुसन्धानको विषयमा कसरी सही जानकारी होला ?

२. अनुसन्धान गर्न दिइएन, अवरोध भयो भनेर प्रधानमन्त्रीले टिभीमा बोल्नुभयो । तर, अनुसन्धान गरेर अपराधी पत्ता लगाइदेऊ भनेर नै त्यति धेरै मान्छे सडकमा आएका हुन् । त्यही माग गर्दा जनताका छोराछोरीले ज्यान गुमाए । कति घाइते भए । काठमाडौं र देशभरि नारा–जुलुस भए । मैनबत्ती बालिए । यति ठूलो आन्दोलन केका लागि थियो ? तर, यो आवाजले अनुसन्धान गर्न कसरी रोक्यो ?

३. व्यक्ति तोकेर यो अपराधी हुनुपर्छ भनेर दबाब दिइएकाले अनुसन्धान गर्न गाह्रो भएको भनेर प्रधानमन्त्रीले बोल्नुभयो । हामीले त्यसो भनेका होइनौँ । बरु, नक्कली मान्छेलाई उभ्याएर यसको नाममा किटानी जाहेर दिनूस् भन्ने त प्रहरी हो । मैले निर्दोष मान्छेलाई कसरी उजुरी दिन सक्छु भनेको हुँ । तर, उल्टै दबाब हामीले दिएका हौँ भन्ने आरोप प्रधानमन्त्रीले लगाउनुभयो । यो सब उहाँलाई स्पष्ट पार्ने मन थियो । तर, प्रधानमन्त्रीले मलाई सबै थाहा छ भनेर धेरै बोल्न दिनुभएन ।

प्रधानमन्त्रीकै अगाडि बालुवाटारमा भनाभन

प्रधानमन्त्रीलाई भेट्न निर्मलाका आमाबाबुसहितको टोली सोमबार बिहान बालुवाटार पुगेको थियो । नेकपा नेतृ एवं सांसद निरु पालले प्रधानमन्त्रीले टोलीका तीनजनालाई मात्र भेट्न सक्ने जानकारी गराएकी थिइन् । तर, कञ्चनपुरदेखि नै आएको ११ जनाको सिंगो टोलीले भेट्न पाउनुपर्ने सर्त संघर्ष समितिले राखेपछि सबैलाई बालुवाटार बोलाइएको थियो ।

बालुवाटारमा प्रधानमन्त्रीसहित नेकपाका नेता भीम रावल, लेखराज भट्ट, कर्णबहादुर थापा, दीपकप्रकाश भट्ट तथा कांग्रेस नेता एनपी साउद र दिलेन्द्र बडूलगायत थिए । बैठकको सुरुवात गर्दै भीम रावलले आमा र बाबुमध्ये एकजनाले मात्र बोल्न पाउने सर्त राखेका थिए । त्यसैले आमा दुर्गादेवीले आफ्नो भनाइ राखिन् ।

दुर्गादेवीपछि कांग्रेस नेता साउदले बोले । उनले घटनाको अनुसन्धानमा चरम लापरबाही भएको भन्दै गम्भीरताका साथ अनुसन्धान गर्न सरकारलाई अनुरोध गरे । साउदपछि संघर्ष समितिकी संयोजक मीना भण्डारीले आफूहरूले पनि बोल्न पाउनुपर्ने माग राखिन् । उनलाई बोल्ने समय दिइयो ।

भण्डारीले आफ्नो भनाइका क्रममा ‘भीम रावलको अभिव्यक्तिले जनता आक्रोशित भएको’ बताउनासाथ रावलले उनलाई रोके । ‘अब म बोल्छु, यसमा मैले पनि आफ्ना कुरा राख्नुपर्नेछ, मैले प्रहरीले अनुसन्धान गर्नुपर्छ र दोषीलाई कारबाही हुनुपर्छ भनेको छु, न्यायको पक्षमा म अडिग छु, मेरो भनाइ तोडमोड गरेर प्रचार गरिएको हो,’ उनले आफ्नो प्रतिरक्षा गरे ।

आन्दोलन चर्किएको वेला रावलले एक रेडियो कार्यक्रममा कञ्चनपुरको मुद्दामा राजनीतिक उद्देश्य लुकेको भनेर टिप्पणी गरेकोमा विरोध भएको थियो ।

रावलले बोलिरहेकै वेला चर्को ढंगले विरोध गरिरहेकी एक महिलालाई सुरक्षाकर्मीले बाहिर निकाले । त्यसपछि वातावरण उत्तेजित भयो । नेकपा नेता कर्णबहादुर थापाले टोलीका महिलाहरूलाई लक्षित गर्दै ‘तपाईंहरू कसको खोल ओढेर आउनुभएको भन्ने हामीलाई राम्रोसँग थाहा छ’ भनिदिए ।

त्यसपछि महिलाहरूले कुनै दलको होइन, बलात्कृत बालिका र तिनका बाबुआमाको प्रतिनिधित्व गरेर आएको र देशको प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रतिवाद गरे । केहीबेर भनाभन भएपछि रावलले हस्तक्षेप गरेर दुवै पक्षलाई रोके ।

स्थिति शान्त बनाउँदै प्रधानमन्त्री बोल्न थाले, ‘म यो देशको प्रधानमन्त्री मात्र होइन, निर्मलाको अभिभावक पनि हुँ । हत्यामा संलग्न व्यक्ति जुनसुकै ओहोदाको भए पनि कारबाहीको दायरामा ल्याइन्छ, मेरो प्रतिबद्धता सुनेर तपाईंहरू घर फर्कनुस् भन्ने मेरो अनुरोध छ ।’