फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

धनगढी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । गएराती १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा वृद्धि गरेको हो ।

स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढाइएको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

यससँगै अब पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १ सय १४ तथा डिजेल र मट्टितेलको १ सय १ कायम भएको छ । खाना पकाउने एलपीजी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ ।

केही साता यता अन्तराष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य रुपमा वृद्धि भएको र अमेरिकी डलरको तुलनामा नेपाली तथा भारतीय मुद्राको समेत अवमुल्यन भएकोले मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ ।