दार्चुलाको दुम्लिङ–व्याँस जोड्ने घोडेटो बाटो पहिरोले अवरुद्ध

दार्चुलाको दुम्लिङ–व्याँस जोड्ने घोडेटो बाटो पहिरोले अवरुद्ध

दार्चुला :  दार्चुलाको दुम्लिङ–व्याँस जोड्ने घोडेटो बाटो पहिरोले अवरुद्ध हुँदा अपी हिमाल चढ्ने आरोही र सर्वसाधारण मर्कामा पारेका छन् ।

व्याँस गाउँपालिका वडा नम्बर १ र २ जोड्ने यो बाटो पहिरोले ठाउँ ठाउँमा हिँडडुल गर्नै नसक्ने हुँदा आवतजावतसमेत बन्द भएको छ ।

जिल्लाको उत्तर पश्चिम सीमा नजिकै रहेको यो बाटोले नेपाल, भारत र चीन त्रिदेशीय सीमा क्षेत्र व्याँस गाउँपालिकाको तिंकर जोड्छ ।व्याँस गाउँपालिका २ तम्पाकु र थीभीर क्षेत्रमा पहिरोका कारण बाटो अबरुद्ध भएको वडाध्यक्ष धिरनसिँह बुढाथोकीले जानकारी दिनुभयो ।

२० वर्षपछि अपी हिमालको आरोहणका लागि गएको पर्वतारोही टोली पहिरोका कारण फिर्ता भएको छ । सदरमुकाम खलंगाबाट भदौ २७ गते हिमाल आरोहणका लागि गएको चेक रिपब्लिकको टोली आधार शिविरमै नपुगी फर्किएको हो ।

दुम्लिङ–व्याँस जोड्ने बाटो अबरुद्ध हुँदा व्याँस गाउँपालिका १ व्याँस क्षेत्रमा चामलको भाउ आकाशिएको छ । तिंकरमा चामलको प्रतिकिलो १ सय ५० रुपैयाँ तिर्नुपरेको नौगाड गाउँपालिकाका वासिन्दा हरकसिँह ठगुन्नाले बताउनुभयो ।

व्याँस गाउँपालिकाको तिंकर क्षेत्रमा भेडा बाख्रा चराउदै आएका उहाले बाटो अवरुद्ध हुँदा त्यस क्षेत्रमा खाद्यान्नको मूल्यवृद्धि भएको बताउनुभयो ।