मदिरा पिउनेलाई परिचयपत्र

मदिरा पिउनेलाई परिचयपत्र

बाजुरा : बाजुराको गौमूल गाउँपालिका क्षेत्रभित्र मदिरा सेवन गर्न मन लागे गाउँपालिका कार्यालयलाई जानकारी हुनैपर्छ । जानकारी मात्रै होइन, कार्यालयले जारी गरेको परिचयपत्रबिना मदिरा सेवन गरे दण्डसजाय नै भोग्नुपर्छ ।

गाउँ समाजमा छाडा रूपमा हुने मदिरा सेवनले पूरै समाज बिगार्ने गरेको निष्कर्षपछि गाउँपालिकाले सेवनकर्ताले परिचयपत्र लिनुपर्ने नियम बनाएको हो । ‘गाउँमा जति पनि झैझगडा र कुटपिटका घटना हुन्छन्, ती सबैका पछाडि मदिरा सेवन मुख्य कारण हुने गरेको देखिएको छ । गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले परिचयपत्र लिनुपर्ने नियम लागू भएपछि यस्ता घटना न्यूनीकरण हुनेबताउनुभयो ।

गाउँपालिकाले गत असारमा ‘मदिरा व्यवस्थापन गर्न बनेको ऐन २०७५’ लागू गरेपछि साउनदेखि मदिरा सेवन परिचयपत्र जारी गरेको हो । हालसम्म १ सय ५० भन्दा बढीले यो कार्ड लिएको अध्यक्ष रोकायाले बताउनुभयो । मदिरा सेवन परिचयपत्र लिन वार्षिक ५ सय रुपैयाँ बुझाउनुपर्ने नियम रहेको छ ।
नियम उल्लंघन गर्नेलाई समेत उत्तिकै कडा कानुन लाग्छ । परिचयपत्र लिएकाले साँझ ६ देखि ९ बजेसम्म मात्र मदिरा पिउन पाउनेछन, त्यो पनि निश्चित तोकिएको मात्रामा मात्र । एक जनाले एक दिनमा १८० मिलिलिटर मात्र मदिरा पिउन पाउने नियम रहेको अध्यक्ष रोकायाले जानकारी दिनुभयो ।

गाउँमा आउने पाहुनाले पनि यो कार्ड नभए मदिरा सेवन गर्न वर्जित गरिएको छ ।’ नियमविपरीत मदिरा सेवन गरेको भेटिए कार्ड नभएकालाई पहिलो पटक २ हजार र दोस्रो पटक ७ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

गाउँघरका पसल–पसलमा मदिरा राख्ने चलन मौलाउँदै गएपछि गाउँपालिकाले पहिलो चरणमा मदिरा बिक्रीवितरणलाई व्यवस्थित गर्न सुरु गरेको थियो । गाउँपालिकाभर करिब २ सय मदिरा पसल भएपनि अहिले त्यसमा नियन्त्रण गरिएको छ ।

‘सबैले मदिरा बिक्री गर्न नपाउने नियम बनाएका छौं,’ रोकायाले भन्नुभयो ‘निश्चित मापदण्ड पूरा गरेकालाई मात्र विक्रेताको अनुमति प्रदान गरिनेछ । हाल गाउँपालिकाभर १० वटा पसललाई मात्र मदिरा बिक्री गर्ने अनुमति दिइएको छ ।’ मदिरा पसल चलाउन पनि लाइसेन्स अनिवार्य छ । ‘हरेक पसलेका मदिरा सेवन कार्ड भएका ग्राहक हुन्छन् र उनीहरूले पिएको मदिराको रेकर्ड पसल सञ्चालकले राख्नुपर्ने अध्यक्ष  रोकायाले बताउनुभयो ।

गाउँपालिकाले विक्रेताको खरिद, बिक्री र मौज्दात तथा मदिरा सेवनकर्ताको कडा अनुगमन गर्ने गरेको बताएको छ । ‘मदिरा सेवनमा पूर्ण बन्देज लगाउन नसकिए पनि परिचयपत्रको नियम लागू गरेर व्यवस्थित गर्न खोजिएको अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो ।