मन्त्री नआउदा संसद बैठक स्थगित, कहाँ गए मन्त्री ?

मन्त्री नआउदा संसद बैठक स्थगित, कहाँ गए मन्त्री ?

धनगढी : मन्त्री नआउदा प्रदेश ७ को संसद बैठक स्थगित भएको छ । मगलवार दिउँसो १ बजेका लागि बोलाईएको संसद बैठक मन्त्री उपस्थित हुन नसक्ने भन्दै स्थगित गरिएको हो । 

संसद बैठकमा एक मन्त्री अनिवार्य उपस्थित हुनैपर्छ ।  प्रदेश ७ का मुख्यमन्त्री सहित ७ वटै मन्त्री व्यस्त भएको भन्दै मगलवारको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको हो । 

मन्त्रीको कार्य व्यस्तताका कारण संसदमा उपस्थित हुन नसक्ने भन्दै सभामुख अर्जुन बहादुर थापालाई नेकपाका प्रमुख सचेतक तारालामा तामाङले बैठक स्थगित गर्न मौखिक र लिखित निवेदन दिएपछि स्थगित गरिएको प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माले जानकारी दिनुभयो । 

दिउँसो १ बजेका लागि बोलाईएको बैठक साढे १२ बजे आएर स्थगित गरिएको भन्दै प्रदेश सभा सचिवालयले सुचना टास गरेका बेला सांसद समेत प्रदेश सभा भवनमा पुगिसकेका थिए । 

सोमवारको संसद बैठकमा मुख्यमन्त्री तथा मन्त्री र प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक सम्बन्धि विधेयकमाथि छलफल गर्ने कार्यसुची थियो । 

पूर्व सुचना विनै संसद बैठक स्थगित गरिएको भन्दै प्रमुख प्रंतिपक्षी दल नेपाली काग्रेसले विरोध जनाएको छ । उसले कुनै सल्लाह विना नै संसद बैठक स्थगित गरिनुलाई सरकारको मनोमानी र लापरवाही भनेको छ । 

संसदमा छलफल गर्नुपर्ने विषयमा कार्य व्यवस्था परामर्श समितिमा छलफल गर्नुपर्ने भएपनि छलफल र सल्लाह विनै संसद बैठक स्थगित गरिने गरिएको भन्दै काग्रेस संसदीय दलका नेता डा.रण बहादुर रावलले विरोध जनाउनुभयो । 

संसदको बैठक असोज ५ गतेका लागि बोलाईएको छ ।