मकै जोनमा मकै जोगाउनै मुस्किल

मकै जोनमा मकै जोगाउनै मुस्किल


बैतडी– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बैतडीलाई मकैजोन घोषणा गरिएको भएपनि मकैजोन क्षेत्रमै किसानलाई मकै जोगाउन मुस्किल परेको छ ।

मकैको उत्पादनमा वृद्धि ल्याउने र मकै प्रशोधन गर्ने लक्ष्यका साथ मकैजोन कार्यालय स्थापना भएपनि जंगली बदेल र बादरकै कारण मकै उत्पादनमा हा्रस आउने संकेत देखिएको मकै जोन कार्यालय बैतडीका प्रमुख दानसिंह महराले जानकारी दिनुभयो । मकै उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले किसानहरुलाई अनुदानमा मकैको बीउ उपलब्ध गराएको भएपनि भित्र्याउने समयमा जंगली जनावरले मकैबाली सखाप पार्दा उत्पादनमा कमी आउने देखिएको उहाले बताउनुभयो  ।

जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सुर्नया, दोगडाकेदार र पञ्चेश्वर गाउँपालिकामा मकैजोन कार्यक्रम लागू भएपनि मकै जोगाउन धौधौ परेको उहाले बताउनुभयो । मकैबाली मुख्य खाद्यबाली भएपनि पछिल्लो समयमा यसको उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो । जंगली जनावरहरुले मकैबाली सखाप पारेको बिषयमा सबैठाउँमा जानकारी गराएको भएपनि समस्या समाधानको उपाय भने ननिस्केको मकैजोन कार्यालयका प्रमुख महराको भनाइ  रहेको छ ।

बैतडीमा पछिल्ला बर्षहरुमा मकैको उत्पादनमा गिरावट आउन थालेको छ । गत बर्ष बैतडीमा १९ हजार ७६४ मेट्रिक टन मकै उत्पादन भएको थियो । आर्थिक बर्ष २०७३ र ७४ मा २३ हजार मेट्रिक टन मकै उत्पादन भएको थियो । मकैबालीमा विभिन्न कारणले क्षति पुग्ने गरेको भएपनि किसानहरुले भने क्षतिपूर्ती पाउने गरेका छैनन् । बालीबीमा नगरेका कारण किसानहरुले क्षतिपूर्ती पाउन नसकेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो  ।

बैतडीमा हाल १२ हजार २ सय हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ । बादर र बदेलले वर्षेनि मकैबालीमा क्षति गर्ने भएकोले मकैबालीतर्फ किसानको आकर्षण घट्दै गएको छ । जंगली जनावरका साथै पहाडवाट तराइमा भइरहेको बसाइसराइका कारणले पनि मकै उत्पादन हुने क्षेत्रफल कम भएको निमित्त प्रमुख चन्दको भनाइ छ ।