दार्चूला जिल्लाका दुई नगरपालिका र दुई गाउँपालिकामा ओखर खेती विस्तार गरिदै

दार्चूला जिल्लाका दुई नगरपालिका र दुई गाउँपालिकामा ओखर खेती विस्तार गरिदै

धनगढी । दार्चूला जिल्लाका दुई नगरपालिका र दुई गाउँपालिकामा ओखर खेती विस्तार गरिने भएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ, स्याउ जोनमार्फत स्याउ उत्पादन नहुने क्षेत्रमा ओखर खेती विस्तार गरिने भएको हो । स्याउ जोन कार्यालयका निमित्त प्रमुख विष्णुप्रसाद ओझाका अनुसार चालू आर्थिक वर्षदेखि महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा ओखर खेती विस्तार गरिने भएको छ । उक्त स्थानीय तहमा स्याउखेती नहुने भएपछि ओखर खेती प्रवर्द्धन गरिन लागेको ओझाले जानकारी दिनुभयो ।

विगतदेखि सो क्षेत्रमा ओखर खेती हुँदै आएको छ । थप यस कार्यालयमार्फत जोनकै रूपमा ओखर खेती लगाइने भएको हो । साविकको कृषि शाखा कार्यालयमार्फत पनि विगतमा सो क्षेत्रमा ओखर खेती गरिएको थियो । ओखरमा आत्मनिर्भर बनाउन परियोजनामार्फत ओखर खेती विस्तार गरिन लागेको निमित्त कार्यालय प्रमुख ओझाले बताउनुभयो । 

यसअघि पनि मालिकार्जुन र शैल्यशिखर क्षेत्रमा राम्रो ओखर उत्पादन हुँदै आएको छ । यो क्षेत्रको ओखर डडेल्धुरा, डोटी तथा तराईका जिल्लामा निर्यात हुँदै आएको छ । भएकै क्षेत्रमा थप कृषि सामग्री, बोटबिरुवा र उपकरण सहयोग गरेर खेती विस्तार गरिन लागेको कार्यालयले जनाएको छ । जोन कार्यक्रमका लागि ५०० हेक्टर क्षेत्रफलमा ओखर खेती गरिनेछ ।