जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पत्रकार लम्साललाई

जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पत्रकार लम्साललाई

विराटनगर :  जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार गणेश लम्साल सम्मानित हुनुभएको छ । पुरस्कारको राशि रु १५ हजार ५५५  रहेकाे छ ।

 प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल मोरङद्वारा संयुक्तरुपमा बुधवार  आयोजित पुरस्कार वितरण समारोहमा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले उहाँलाई सो पुरस्कार प्रदान गर्नुभएकाे थियो । 

 सो अवसरमा मन्त्री कार्कीले सरकारलाई अगाडि बढ्न यसका कमी कमजोरीलाई औँल्याइदिन सञ्चारकर्मीलाई आग्रह गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्न प्रदेशस्तरीय दुई वटा निर्देशनालय धनकुटामा स्थापना भएको जानकारी दिनुभयो ।
    
 अतिआवश्यक सेवा प्रदान गर्ने कार्यालय जिल्लाजिल्लामै स्थापना गर्ने तयारी सरकारको छ, उहाँले भन्नुभयो, “पहाडी जिल्लाका सबै गाउँपालिकामा एम्बुलेन्स राख्ने विषयमा पनि छलफल भइरहेको छ ।” 

मन्त्री कार्कीले प्रदेश नं १ मा २८ वटास्तरीय प्रहरी चौकी स्थापना गर्न बजेट विनियोजन गरिसकेको जानकारी दिदैं विपद् व्यवस्थापनका लागि पहाडी जिल्लाका एक, भित्री मधेश जिल्लाका एक र तराई जिल्लाका एक गाउँपालिका छनोट गरी त्यहाँ दमकल, एम्बुलेन्स र सुरक्षाकर्मी युनिट राख्ने गृहकार्य भइरहेको बताउनुभयो ।
    
लागुऔषध नियन्त्रण गर्न सगरमाथा टिनएजर क्लब स्थापना गरी अभियान सञ्चालन गर्ने तथा सडक दुर्घटनालाई नियन्त्रण गर्न सडक सुशासन कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाइ छ। 

नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेल, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष लीला भट्टराई, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेल र पुरस्कृत पत्रकार लम्सालले पूर्ण प्रेस स्वतन्त्रतामैत्री वातावरण निर्माण हुनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।