महेन्द्रनगरलाई हराउँदै काठमाडौं गोल्डेन्स फाइनलमा

महेन्द्रनगरलाई हराउँदै काठमाडौं गोल्डेन्स फाइनलमा

२९ चैत, कैलाली । धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई पाँच विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन बनायो ।

निकै खराब सुरुआत गरेको महेन्द्रनगरले १० रन बनाउँदा महत्वपूर्ण ६ विकेट गुमाएको थियो । उसका ५ खेलाडीले खाता नै नखोली पभेलियन फर्किएका थिए ।

निकै दबावमा रहेको महेन्द्रनगरका आरिफ शेख र पुनित मेहराले सातौ विकेटका लागि ८५ रनको साझेदारी गर्दै टिमको पारिलाई सम्हालेका थिए ।

आरिफ शेख ४३ रनमा पेभेलियन फर्किएपछि महेन्द्रनगरले ९५ रनमा सातौ विकेट खेर फाल्यो । त्यसपछि आठौं विकेटकालागि पुनित मेहरा र करण केसीले ४६ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्‍याए । पुनित मेहराले ५८ र करण केसीले २१ रन बनाए ।

बलिङ तर्फ काठमाडौका सन्नी पटेलले ६ विकेट लिए । चार ओभरमा १० रन खर्चदै महेन्द्रनगरको महत्वपूर्ण विकेट हात पारे । जारी प्रतियोगितामा एकै खेलमा ६ विकेट लिने सन्नी पहिलो खेलाडी समेत बने ।

जवाफमा काठमाडौ गोल्डेन्सले १८ ओभर दुई बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो । काठमाडौंका ओपनर ब्याट्म्यान सुबोध भाटीले विस्फोटक ब्याटिङ गर्दैै १८ बलमा ५२ रन बनाए ।

जारी प्रतियोगितामा कम बलमा अर्धसतक पूरा गर्ने भाटी पहिलो खेलाडी बने ।

काठमाडौंका लागि अमित श्रेष्ठ २६, भुपेन्द्र थापा १५, कप्तान ज्ञानेन्द्र मल्ल २५ र नरेश बुढाऐरले ७ रन बनाए ।

बलिङ तर्फ महेन्द्रनगरका पुनित महेराले दुई बिकेट लिए । टिम चौराहा धनगढी यसअघि नै काठमाडौलाई एक विकेटले हराउँदै फाइनलमा पुगिसकेको छ । फाइनल खेल शुक्रबार हुनेछ ।