कञ्चनपुरमा हात्ति आतंकः ५ बिघा खेतमा लगाइएको धान बाली सखाप

कञ्चनपुरमा हात्ति आतंकः ५ बिघा खेतमा लगाइएको धान बाली सखाप

धनगढी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटा र भमरभोजमा गरी जङ्गली हात्तीको बथानले आईतबार राति ५ बिघा खेतमा लगाइएको धान बाली सखाप पारेको छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बस्तीमा छिरेको हात्तीको बथानले पाकेको धानबालीमा नोक्सानी पु¥याएपछि स्थानीय किसान निकै चिन्तित भएका छन् । पाकेर काट्नै लागेको धानबालीमा हात्तीको ३० देखि ३५ को सङ्ख्यामा रहेको बथानले खुट्टाले कुल्चेर र खाएर नोक्सानी गरेको वडाध्यक्ष बहादुर महराले बताउनुभयो । साँझ नपर्दै बस्तीमा छिरेका हात्ती भगाउनका लागि रातभर जाग्राम बस्नुपरेको उहाँले बताउनुभयो । 

२ दर्जन बढी किसानको धानबालीमा व्यापक नोक्सानी पुगेको वडाध्यक्ष बहादुर महराले जानकारी दिनुभयो । गाउँका बासिन्दाको सहयोगमा हात्ती भगाउन पूरै रात खटिए पनि धानबाली जोगाउन नसकिएको उहाँले बताउनुभयो । 

हात्तीको बथान नजिकैका बैजनाथ र भगवती सामुदायिक वनतर्फ लागेकाले मानवीय क्षति हुन नदिनका लागि वन क्षेत्र प्रवेशमा समेत रोक लगाइएको छ । दुई साता अघि पनि जङ्गली हात्तीको बथानले यस क्षेत्रका किसानका खेतमा प्रवेश गरी सात बिघा बढी जग्गाको धानबालीमा नोक्सानी गर्नुका साथै तीन जना किसानको घरसमेत भत्काएको थियो । 

प्रत्येक वर्ष यस क्षेत्रमा हात्तीको बथानले उपद्र मच्चाउँदै आएको छ । स्थानीय किसानले पूरै धानबालीमा नोक्सानी पुगेपछि स्थानीय तह, डिभिजन वन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग क्षतिपूर्तिका लागि माग गरेका छन् ।