डीपीएल क्रिकेट : फाइनलमा धनगढी र काठमाडौं खेल्दै

डीपीएल क्रिकेट : फाइनलमा धनगढी र काठमाडौं खेल्दै

कैलाली, चैत ३० – धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलको उपाधिका लागि धनगढी टिम चौराह र काठमाडौं गोल्डेन्स खेल्दैछन् । खेल दिउँसो साढे १२ बजेपछि धनगढीमा सुरु हुनेछ । उपाधि विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले १० लाखमा चित्त बुझाउनुपर्नेछ । 

साविक विजेता धनगढी क्वालिफायरमा काठमाडौंलाई हराउँदै फाइनल प्रवेश गरेको हो । त्यस्तै, क्वाालिफायरमा पराजित भए पनि बिहीबार भएको इलिमिनेटरमा कञ्चनपुरलाई हराउँदै काठमाडौंले धनगढीसँगको फाइनल भेट पक्का गरेको हो ।

यो प्रतियोगितामा काठमाडौं र धनगढीले दुईपटक खेलेकोमा एक एक खेल जितेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंले धनगढीलाई ७ विकेटले हराएको थियो भने प्रतियोगिताको एलिमिनेटरमा काठमाडांैलाई एक विकेटले हराउँदै धनगढीले बदला लिएको थियो । 

उपाधि जित्ने दुवै टिमका कप्तानको दावी 

काठमाडौं ज्ञानेन्द्र मल्लको कप्तानीमा छ भने धनगढीको कप्तान सोमपाल कामी छन् । काठमाडौंका कप्तान ज्ञानेन्द्रले बिहीबारको प्रदर्शनले फाइनल जित्ने आत्मविश्वास बढेको बताए ।

प्रतियोगितामा राम्रो क्रिकेट खेलेर यहाँसम्म आएका छौं, त्यसैलाई निरन्तरता दिएर हामीले उपाधि रक्षा गर्न चाहान्छौं’ ज्ञानेन्द्रले भने, ‘दुवै टिममा राम्रा खेलाडी भएकाले शुक्रबारको फाइनलमा राम्रो क्रिकेट हेर्न पाइने उनको भनाई छ । 

यस्तै धनगढीका कप्तान सोमपाल कामीले गएको वर्ष पनि उपाधि जितेको र प्रतियोगितामा पनि राम्रो खेलिरहेकाले यसपटक पनि उपाधि जित्ने दावी गरे । घरेलु मैदान र समर्थकको साथले हौसला थपेको उनले बताए ।  

दुवै टिममा विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शन

फाइलन प्रवेशका लागि बिहीबार भएको खेलमा काठमाडौंका लागि खेलिरहेका भारतीय खेलाडी सुवोध भाटीले १७ बलमै ५० रन बनाए । यो प्रतियोगिताकै छिटो अर्धशतक हो ।

बलिङ पनि भारतकै सन्नी पटेलले ४ ओभरमा १० रन मात्र दिएर ६ विकेट लिए । उनी १२ विकेटसहित यो प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् । 

यस्तै, धनगढीका लागि पनि भारतीय खेलाडी पुनित मिश्राले निकै राम्रो ब्याटिङ प्रदर्शन गरिरहेका छन् । यस्तै यूएईका कप्तान रोहन मुस्ताफाको अलराउन्ड प्रदर्शन पनि हेर्न लायक छ ।

को को छन् टिममा ?

 

काठमाडौं गोल्डेन्स :

कप्तान : ज्ञानेन्द्र मल्ल 
प्रशिक्षक : राजु बस्न्यात

खेलाडीहरु :

नरेश बुढाएर
बिक्रम ठगुन्ना
ललित राजबंशी
अमित श्रेष्ठ
सन्तोष भट्ट
किशोर महत्तो
राशिद खान
शाहब आलम
पुस्प थापा
भुपेन्द्र थापा
संजय श्रेष्ठ
संजय बस्नेत

विदेशी खेलाडी :

जयकिसन कोल्सावाला (भारत‌) 
सन्नी पटेल (भारत)

टिम चौराह धनगढी :

कप्तान : सोमपाल कामी
प्रशिक्षक : शेरबहादुर लामा

खेलाडीहरु :

राजेश पुलामी 
सुनिल धमला
राजु रिजाल
आशु कन्दोई
विजय राना
योगेन्द्रसिंह कार्की
ललितसिह भण्डारी
सोनु तामाङ
शंकर राना
रविन्द्रजंग साही
सम्साद शेख
महेश अधिकारी

विदेशी खेलाडी :

रोहन मुस्तफा (युएई)
पुनित मिश्रा (भारत)