मित्रता आफ्नो ठाउँमा छ, सीमा एक इञ्च पनि मिच्न दिइँदैन: परराष्ट्रमन्त्री ज्ञवाली

मित्रता आफ्नो ठाउँमा छ, सीमा एक इञ्च पनि मिच्न दिइँदैन: परराष्ट्रमन्त्री ज्ञवाली

बैतडी : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी नेपालकै रहेको भन्दै सरकारको गम्भीर ध्यानकर्षण भएको बताउनुभएकाे छ ।

भारतीय नक्सामा नेपालको भूमि राखिएको भन्ने कुरा सञ्चारमाध्यमबाटै आफूले थाहा पाएको बताउँदै उहाँले भारतबाट आधिकारिक रुपमा कुनै जानकारी नआएको स्पष्ट पार्नुभयो । 

नक्सामा नेपाली भूमि राखिएको भनिएकाेमा कुटनीतिक पहल भइरहेको विज्ञप्ति पनि निकालिसकेकाे उहाँले बताउनुभयो । पञ्चेश्वर गाउँपालिकामा सुरु भएको राष्ट्रनिर्माण महामहोत्सवको उद्घाटन कार्यक्रममा उहाँले मित्रता आफ्नो ठाउँमा भए पनि सीमा भने एक इञ्च पनि मिच्न नदिइने स्पष्ट पार्नुभयो ।

यस्तै वर्षाैँदेखि कुराकानी भइरहेको भए पनि अगाडि बढ्न नसकेको पञ्चेश्वर परियोजनाको काम पनि अगाडि बढाउने सहमति भइरहेको पनि बताउनुभयो ।

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणको लागि भारत सहमतिनजिक रहेको पनि उहाँले जानकारी गराउनुभयो । बैतडीमा पुल निर्माणको माग गर्दै ३७ दिनसम्म रिले अनसनसमेत बसेका कुरा थाहा भएको बताउँदै उहाँले भारत सहमति गर्न तयार रहेको पनि जानकारी गराउनुभयो।