छाया सरकारका गृहमन्त्री बडूले भेटे अनशनरत डा. केसीलाई

छाया सरकारका गृहमन्त्री बडूले भेटे अनशनरत डा. केसीलाई

डडेल्धुरा : चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा. गोविन्द केसीले सोमबारदेखि सुरु गरेको १७ औं चरणको अनशन पाँचौ दिन जारी छ । सदरमुकामस्थित डडेल्धुरा अस्पताल नजिकै निर्मल क्लिनिक रहेको घरको तेस्रो तलाको एउटा कोठामा केसी अनशन बसिरहेका छन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा छाया सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडूले अनशनरत डा.केसीलाई भेट्नु भएको छ । शुक्रबार दिउँसो केसीलाई भेटेर उहाँले अनशनप्रति ऐक्यबद्धता जनाएका छन् ।

उहाँले केसीको अनशनप्रति सुरुदेखि नै कांग्रेसको समर्थन रहेको बताउनुभयो । केसीले उठाएका मेडिकल शिक्षालाई गुणस्तरीय, सर्वसुलभ र सबैले पढ्न सक्ने बनाउनुपर्छ भन्ने माग जायज भएको नेता बडूले बताउनुभयो ।

उहाँले मागहरु छिटोभन्दा छिटो कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नु भएको छ । मेडिकल कलेजहरु अहिले पनि तोकेको शुल्कभन्दाब बढी लिइरहेको छन् । बडूले दुईतिहाइको वर्तमान सरकार गरिब विद्यार्थीको हितमा नभएको आरोप लगाउनुभयो । काठमाडौँ गएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई केसीले अघि सारेका ७ बुँदे मागबारे जानकारी गराउने उहाँले बताउनु भएको छ ।