यौन सम्पर्कबाट विश्वमै पहिलो पटक डेंगी भएको पुष्टि

यौन सम्पर्कबाट विश्वमै पहिलो पटक डेंगी भएको पुष्टि

स्पेनका स्वास्थ्य अधिकारीहरुले एक जना पुरुषलाई शारिरीक सम्पर्कका माध्यमबाट डेंगीको संक्रमण भएको पुष्टि गरेका छन् । लामुखुट्टेको टोकाइबाट मात्रै सर्ने भनिएको डेंगी विश्वमै पहिलो पटक यौन सम्पर्कका माध्यमबाट सरेको पाइएको हो ।

स्पेनको राजधानी मड्रिडका एक जना ४१ वर्षीय पुरुषमा यौन सम्पर्कको माध्यमबाट डेंगीको सक्रमण भएको द टेलिग्राफको अनलाइन संस्करणले जनाएको छ । क्युबा भ्रमणमा गएका बेला पुरुष साथीसँगको शारिरीक सम्पर्कपछि उनमा डेंगीको संक्रमण भएको मड्रिडमा रहेको पब्लिक हेल्थ डिपार्टमेन्टकी अधिकारी सुसाना जिमिनेजले जानकारी दिएकी छिन् ।

उनमा डेंगीको संक्रमण भएको सेम्टेम्बरमा पुष्टि भएको थियो । उच्च ज्वरो आउने, शरीर दुख्ने लगायतका लक्षण देखिने रोगको संक्रमण नभएको क्युबामा गएका उनलाई डेंगीको संक्रमण भएको देखेर डाक्टरहरु पनि समस्यामा परेको जिमिनेजले बताएकी छिन् । उनी भन्छिन्, ‘उनको साथीमा पनि त्यस्तै लक्षण देखिएको थियो । तर दश दिन पहिले केही कम भएको थियो । उनी पहिले क्यूबा अनि डोमिनिकन गणराज्यको भ्रमणमा गएका थिए ।’

उनको शुक्राणुको विश्लेषपछि उनमा डेंगी भएको पत्ता लागेको थियो । त्यति मात्रै होइन, त्यसमा क्यूबामा फैलने भाइरस पनि फेला परेको थियो । जिमिनेजका अनुसार एक पुरुष र एक महिलाबीच यौन सम्पर्कका माध्यमबाट डेंगीको संक्रमण हुने कुरा दक्षिण कोरियामा हालसालै प्रकाशित वैज्ञानिक लेखको विषय थियो ।

के हो डेंगी र?

डेंगी ज्वरो विशेषगरी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । यो रोगबाट बर्सेनि विश्वमा झण्डै १० हजार व्यक्तिको ज्यान गरेको छ भने एक करोड व्यक्तिमा यसको संक्रमण हुने गरेको छ ।

एडिज इजिप्टाई जातको लामखुट्टेले डेंगी भएकालाई टोकेर अरुलाई टोकेमा यो रोग सर्दछ । यो रोग मुख्यतः स्त्रीजातिका एडिज लामखुट्टेकोे टोकाइबाट मानिसमा सर्ने गर्छ । 

यो प्रजातिका लामखुट्टेले मुख्यतः सफा जमेको पानीमा अण्डा पार्दछ र साँझपख मानिसहरुलाइ टोक्ने गर्दछ । यो लामखुट्टेको खुट्टामा सेतो मार्किङहरु र ढाडको माथिल्लो भागमा वीणा आकारका मार्किङहरु रहेको हुन्छ, जुन अरु प्रजातिका लामखुट्टेमा पाइँदैन ।

यसमा चार प्रकारका  डेंगी भाइरस हुन्छन । त्यो भाइरस शरीरमा प्रवेश गरेपछि डेंगी ज्वरो लाग्ने हो । पानी जम्ने ठाउँ, साना खाल्डाहरुमा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यस्ता ठाउँहरुमा यो लामखुट्टेले अण्डा पार्दछ । यो रोग लागेका ९७ प्रतिशतलाई सामान्य ज्वरोको रुपमा हुन्छ  । 

डेंगीका लक्षणहरु 

सुरुमा बिरामीहरुमा धेरै टाउको दुख्ने,ज्वरो आउने,  रिँगटा लाग्ने, जिउ, हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरको मासु पुरै दुख्ने हुन्छ  । त्यस्तै जोर्नीहरु दुख्ने, बान्ता हुने, आलस्यता हुने जस्ता लक्षणहरु  देखा पर्छन । 

शरीरमा रातो दानाहरु आउँछ, स्वासप्रस्वासमा समस्या आउँछ ।  साथै नाकबाट रगत आउने, रगतमा पानीको मात्रा कम हुने, प्लेटलेट्सको सङ्ख्या एक लाखभन्दा कम हुने, रक्तचाप कम हुने पनि हुन्छ ।

तीन दिनको ज्वरोको चरण पार गरेपछि रगतमा पानीको मात्रा कम भएमा कमजोरी बढ्दै जाने र रक्तचाप कम हुने पनि हुन्छ ।  शरीरमा प्लेटलेटको सङ्ख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, रक्तचाप निकै कम हुने हुन्छ।

अधिकांश रोगीहरु सामान्य उपचारपछि निको हुने बताइएको तर बेलैमा उपचार नगरेमा मानिसको ज्यानै जाने बताइएको छ ।

यो रोगको तीनवटा चरणहरु देखिन्छ । क्लासिक डेंगी ज्वरो, डेंगी हेमोरेजिक ज्वरो र डेंगीशक सिन्ड्रोम । क्लासिक डेंगी सामान्य प्रकारको डेंगी हो, यो आफै निको हुन्छ तर डेंगी हेमोरेजिक ज्वरो वा डेंगीशक सिन्ड्रोम भएको छ भने यसको सही र समयमै उपचार नगरे मृत्युसमेत हुन सक्छ ।

डेंगीले निम्त्याउने जोखिम

फोक्सोमा पानी जम्ने
पेटमा पानी जम्ने
रक्तश्राव हुने 
मृगौला ड्यामेज हुने 
एक पटक डेंगी भैसकेको मानिसमा धेरै जोखिम हुन्छ  ।

डेंगीबाट बच्ने उपाय

लामखुट्टेको टोकाइबाट बच्नुपर्छ  । 
घरवरपर पानी जम्ने खाल्डाखुल्डीहरु पुर्नुपर्छ ।  
घर नजिक कुनै पनि झाडी राख्नु हुँदैन
लामखुट्टेको टोकाइबाट बच्न झूलको प्रयोग गर्ने वा लामखुट्टे धुप वा क्रिम प्रयोग गर्नु पर्छ ।
झ्याल ढोकामा जाली राख्नु पर्छ । 
शरीर पुरै ढाक्ने कपडा लगाउनुपर्छ । 
सरसफाइमा ध्यान दिनुपर्छ ।