बैतडीमा ट्याक्टर दुर्घटना हुँदा ११ जना घाइते

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा ११ जना घाइते

बैतडी : बैतडीमा ट्याक्टर दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा पाँच जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।शनिवार बिहान पटान बजारबाट मजदूर बोकेर हिडेको लु ३ प ३६८१ नम्बरको ट्याक्टर पाटन नगरपालिका–६ कद्वारनजिक मेलापानीमा दुर्घटनामा परेको हो ।

घाइते हुनेमा कपिलबस्तुको शिवराज नगरपालिका– १ का १९ वर्षका चन्दु थारु, १६ वर्षीया अञ्जली थारु, १८ वर्षीया रबिना थारु, १९ वर्षीय देउकुमाल थारु र १८ वर्षीया सिर्जना थारु रहेका छन् ।

यस्तै सोही ठाउँका २० वर्षिया रितु थारु, २२ वर्षीय किसन थारु, २० वर्षीया फूलमती थारु, १८ वर्षीया अमिता थारु, २० वर्षीय लाइकराम थारु र कैलालीको गौरीगंगा नगरपालिका–३ का कोट्टारी चौधरी पनि घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घाइतेमध्ये चन्दु, अञ्जली, रबिना, देउकुमाल र सिर्जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय पाटनले जानकारी दिएको छ । उनीहरुले पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछी अन्यत्र रेफर गरिएको छ ।

अन्य घाइतेको भने पाटनमै उपचार भइरहेको छ । ट्याक्टर सडकवाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनामा घाइते भएका सबै पाटन–पञ्चेश्वर सडकमा काम गर्ने मजदूर रहेका छन् ।