अछाममा पनि बढ्यो चुनाबी चहलपहल

अछाममा पनि बढ्यो चुनाबी चहलपहल

अछाम : आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी अछाममा सुरु भएको छ । अछाममा वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो। निर्वाचनका लागि मेल्लेख गाउँपालिका ५ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनुका साथै चुनावको तयारी पनि सुरु भएको छ। 

यसैबीच नेपाली कांग्रेस र नेकपाले वडाध्यक्षको उम्मेदवारको टुंगो लगाएका छन् । नेपाली कांग्रेसले वीरबहादुर बोहरालाई वडाध्यक्षको उम्मेदवार बनाएको छ भने नेपाल कम्युनिस्ट पार्टीले रमेश खड्कालाई उम्मेदवारको रुपमा अगाडी सारेको छ ।

उम्मेदवार टुंगो लगाएसँगै दुबै पार्टीले आफ्नो चुनावी गतिविधि अगाडी बढाएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष रामबहादुर बोहराको बाजुराको बडिमालिका दर्शन गर्न जाने बेला ०७४ साउन २१ गते बाटोमा लेक लागेर ज्यान गएपछि वडाध्यक्ष पद रिक्त रहेको थियो ।मृतकका दाई  वीरबहादुर बोहरालाई कांग्रेसले उम्मेदवार बनाएको जिल्ला सभापति भरतकुमार स्वाँरले जानकारी दिए । 

अछाममा उपनिर्वाचन हुने एकमात्र वडा मेल्लेख गाउँपालिका ५ बिन्देबासीनीमा २ वाट मतदानस्थल र ३ वटा मतदान केन्द्र तोकिएको छ ।वडामा जम्मा एक हजार ९ सय ४ जना मतदाता रहेका छन् । जसमध्ये १ हजार २ महिला र ९ सय २ जना पुरुष मतदाता  छन्।

उपनिर्वाचनका लागि मेल्लेख ५ का लागि भवानि मावि काटेगाउँ केन्द्रमा ६५२ जना, जनतामावि (क) केन्द्रमा ६४४ जना र जनतामावि (ख) केन्द्रमा ६०८ जना मतदाताले मतदान गर्ने व्यवस्थाप मिलाइएको छ । उपनिर्वाचन हुने वडा मेल्लेख ५ मा २०७४ को स्थानीय निर्वाचनमा रहेको मतदाता संख्याभन्दा १३२ जनामतदाता थप भएका छन्। 

उपनिर्वाचनका लागि प्रति मतदान केन्द्र ५ जनाका दरले १५ जना जनशक्ति खटिने, कार्तिक ३० गते उम्मेदवारीको मनोनयनदर्ता हुने मंसिर ५ गतेबाट मतदाता शिक्षा सुरु हुने र एक नमुना मतदान कार्यक्रम समेत हुने जिल्ला निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख गजेन्द्र प्रकाश थारुले जानकारी दिए।