समाजवादीले सरकार नछाड्ने, सरकारसँग वार्ता गर्ने

समाजवादीले सरकार नछाड्ने, सरकारसँग वार्ता गर्ने

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरेको मन्त्रालय नै आफू नभएको बेलामा हेरफेर गरिएको भन्दै सरकारसँग असन्तुष्ट रहेको समाजवादी पार्टीले सरकार तत्काल नछाड्ने जनाएको छ । समाजवादी पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । तर मन्त्रिपरिषद् पुनर्गठन हुँदा उनलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यादव त्यसबेला भारतमा थिए ।  पार्टी उनी फिर्ता भएपछि सरकार छाड्ने बताएको भए पनि पदाधिकारी बैठकले त्यस्तो निर्णय भने गरेको छैन । स्रोतका अनुसार अहिले नै सरकार छाड्दा गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सक्ने भएकाले सरकार नछाड्ने निर्णय भएको हो ।

पदाधिकारी बैठकले प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेर गर्दा सरकारको राजनीतिक मूल्य, मान्यता र संस्कृति प्रतिकूल भएको भन्दै पार्टीले असहमति प्रक गरेको छ । 

सरकार र नेकपासँग वार्ता गर्न सत्तारुढ समाजवादी पार्टीले वार्ता समिति गठन गरेको छ । वार्ता समितिमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई र सह–अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।