एनसेलद्वारा ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत नगद पुरस्कार वितरण

एनसेलद्वारा ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत नगद पुरस्कार वितरण

एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ अफर अन्तर्गत पहिलो हप्ताका पाँच विजेता ग्राहकलाई बिहीबार जनही २ लाख रुपेयाँ पुरस्कार वितरण गरेको छ ।   

कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १ देखि सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख र प्रत्येक महिना १० लाख रुपैयाँ जित्ने मौका पाउँछन् । 

योजनाको पहिलो हप्ताका पाँच विजेतामध्ये बिहीबार दुई जनाले २ लाख रुपैयाँ नगद पुरस्कार ग्रहण गरेका छन् । बाँकी विजयी ग्राहकहरुले आवश्यक प्रमणिकरणको प्रक्रिया पश्चात नजिकैको एनसेल सेन्टर वा काठमाण्डौबाट पुरस्कार लिन सक्नेछन् । 

पहिलो हप्ताका पाँच विजयीमध्ये सुर्खेतकी मोतिसरा दमाइले सुर्खेतमा रहेको एनसेल सेन्टरबाट र बाराका मनोजकुमार यादवले वीरगञ्जबाट २ लाख पुरस्कार प्राप्त गर्नुभएको हो । 

पुरस्कार रकम लिएपछि खुशी हुँदै मोतिसराले भन्नुभयो ‘एनसेललाई धेरै–धेरै धन्यवाद । यो रकमले म गाउँमा एउटा सानो घडेरी जोड्छु ।’  यस्तै, मनोजले आफूले प्राप्त गरको नगद पुरस्कार आफ्ना बालबालिकाको पढाइमा खर्च गर्ने बताउनुभयो । 

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा १०० रुपैयाँ वा यसभन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्न सक्छन् । आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा सञ्चालन भइरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनपछि त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ ।

ग्राहकहरुले १०० वा त्योभन्दा बढीको ब्यालेन्स रिचार्जमा प्रत्येक १००  रुपैयाँ बराबरको एक विषेश कोड एसएमएसमार्फत प्राप्त गर्छन् । उदाहरणका लागि ग्राहकले ३५० रुपैयाँ रिचार्ज गर्दछ भने उसले तीन विषेश कोड नम्बरहरु प्राप्त गर्दछ । त्यसैगरी ग्राहकले ५०० रिचार्ज गरेमा पाँच वटा विषेश कोड प्राप्त हुनेछन् ।

यसरी प्राप्त हुने प्रत्येक कोड ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्नपर्ने हुन्छ । यस योजना अन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ साढे ६ बजे एपीवान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेजमार्फत पाँच जना विजेताको घोषणा हुन्छ । आवश्यक प्रक्रिया पूरा गरी प्रत्येक हप्ताको शुक्रबारभित्र अघिल्लो हप्ताका विजयीलाई नगद पुरस्कार हस्तान्तरण गरिनेछ ।